बकैया \ छरको छानो र काठका बाकलले घेरिएको छ ७७ वर्षका पदमलाल विश्वकर्माको आरन । टाढाबाट झट्ट हेर्दा आरन हो भन्ने प्रष्ट अनुमान लगाउँन सकिन्छ । उहाँको आरनमा छरिप्रस्ट फलामका टुक्राहरु छन भने बनाउन ल्याइएका गाउँलेका हसिँया, कोदालो र अन्य फलामका सामाग्रीहरु रहेका छन् । विहानको खाजानास्ता पछिको उहाँको दिनाचार्य हुन्छ फलामसँग जुध्ने । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ निवासी पदललाल ७७ वर्षको हुनुभयो । १३ वर्षको हुँदादेखी पुर्खौली पेशालाई अङ्गाल्दै आउनुभएका पदमलाल ६ दशकभन्दा बढी समय आरनमा फलाम पिट्दैमा बितेको छ ।
गाउँघरमा खेतीपाती गर्नेको सङख्या घट्दै गएपछि आरन पेशा सङ्कटमा पर्न थालेको पदमलाल बताउनुहुन्छ । १३ वर्षको कलिलो उमेरदेखी अहिले सम्म आउँदा केही वर्ष यता आरनमा फलाम पिट्ने काम कम हुँदै गइरहेको उहाँ सुनाउनुहुन्छ । पछिल्लो समय प्रविधिको विकाशले फड्को मारेर खेत बारीमा ट्याक्टर प्रयोगमा आएपछि हला बनाउने, चाँदे, कोदालीको प्रयोगमा कमी हुँदै गएपछि आरन पेशा सङ्कटमा पुग्न थालेको पदमलाल भन्नुहुन्छ ।
आरनबाट दैनिकी समेत चल्न गाह्रो पर्न थालेपछि यस पेशामा पछिल्लो पुस्ताका युवाहरु आरन पेशामा नरहेको अवस्था छ । यस्ता पेशाका मानिसहरु अहिले परम्परागत काम छाडेर अन्य पेशामा लाग्न थालेको र पढाई गर्ने गरेकाले अन्य पेशामा रहेको जानकारहरु बताउँछन् ।
तर यही पेशाबाट आफनो ४ जनाको परिवार पाल्दै आउनु भएको उहाँले पुर्खौली पेशा छाड्न नसकेको पदमलाल बताउँनुहुन्छ । आफुले अन्य कुनै काम नजानेको र बाबुबाजेले गर्दै आएको यही पेशालाईनै निरन्तरता दिएको उहाँ भन्नुहुन्छ । पदमलालले परम्परागत रुपमा फलाम ल्याएर हँसिया, कुटो, कोदालो, खुकुरी र दाउ बनाउने गर्नुहुन्छ । पछिल्लो समय कोइला समेत नपाउँदा र कोइलाको मुल्य महँगो हुँदा काममा अप्ठ्यारो भएको उहाँले बताउनु भयो ।
पहिले पहिले काम गरेबापत मकै चामल भाग लिने चलन थियो, विस्तारै त्यो चलन हराउँदै गयो र अहिले प्रतिवटाको नगद पैसा लिने गरेको पदमलाल बताउँनुहुन्छ । आँखाले देखुन्जेल फलाम पिट्छु र जीविकोपार्जन गर्छु भन्ने लाग्छ मलाईःपदमलालले भन्नुभयो । उहाँ भन्नुहुन्छः गाउँमा विकास भयो मेशिनबाट खेतीपाती लगाउन थाले तैपनि केही चिजहरु आरनमै बनाउन आउँछन्, खुसी लाग्छ ।
बजारमा धेरै फलामका काम गर्ने ग्रील उद्योग खुलेका छन् त्यसैले पनि आरन आउन छाडेका हुन् जति आउँछन् त्यतिको काम गरेर बस्छु पदमलालले भन्नुभयो । प्रविधिको विकाससँगै पेशालाई बदल्न नसक्दा गाउँका कतिपय आरन पेशा नै बन्द गरेर अन्य पेशा गरिरहेका उहाँ भन्नुहुन्छ ।