हेटौंडा \ कुनै समय थियो मकवानपुर दारको ठेकीमा प्रख्यात । अहिले पनि दारको ठेकीले चिनिने मकवानपुरमा दारको बोट अनि दारको ठेकी हराउँदै गइरहेको छ । माया चिनो होस् की घरमा प्रयोग गर्न होस दारबाट बनेको ठेकी बलियो र राम्रो मानिन्थ्यो । तर विस्तारै दारको बोट विरुवा वा रुखहरु हराउँदै जानु र ठेकीको प्रयोग कमीले पनि होला दारको विरुवा रोप्न र संरक्षण गर्न तर्फ कसैको चासो रहेन ।
डिभिजन वन कार्यालय राप्ती मकवानपुरका प्रमुख विष्णु प्रसाद आचार्य दशकदेखीको वन र वन सँग जोडिएर आफ्नो अनुभव अनुरुप मकवानपुरमा लोपहुँदै गएको दारको वृक्षारोपण गरिनुपर्छ भन्ने अभियानमा जुट्नु भयो । दार मात्रै नभई उहाँको सक्रियता वन सँग जोडिएका दर्जनौ क्रियाकलापहरुबाट सामूदायिक वनहरुले सिकेर वन समूहमा लागु गर्नुपर्ने देखिन्छ । केही दिनअघि दारको विरुवाको उत्पादन हुने क्षेत्र मकवानपुरको बकैया गाउँपालिकाको चपकीमा १ हजार विरुवा रोप्ने लक्ष्यका साथ दार विरुवाको वृक्षारोपण गरिएको थियो । सोही दिन पाँच सय विरुवा रोपिएको थियो । उहाँ आचार्यले तयार पार्नु भएको दार विरुवा बारेको सामाग्री यहाँहरु समक्ष हामीले प्रस्तुत गरेका छौं ।-सम्पादक
विष्णु प्रसाद आचार्य -प्रमुख, डिभिजन वन कार्यालय राप्ती मकवानपुर
दार के हो ?
नेपालीमा दार वा गित्थी वा पारो भनेर चिनिने यसको बोटानिकल नाम Pouzolzia rugulosa हो जुन ग्चतष्अबअभबभ परिवार अन्तर्गत पर्दछ । सन् २००९ बाट यसको बोटानिकल नाम Pouzolzia rugulosa लेख्न सुरु गरिएको छ । जर्मन वनस्पतिशास्त्री Georg Rutholf Boehmer को सम्मानमा यसको वानस्पतिक नाम बोइमर राखिएको हो ।
यो एक सानो देखि उचाईमा ३० फिट सम्म हुने मध्यम आकारको सदावहार रुख हो । यसको पातलाम्चो र लामो र टुप्पोतिर चुच्चो परेको, अल्टरनेट भई तीनवटा मुख्यनशाहरु र पातको किनारामा दाँतिहरु रहेको हुन्छ । पातको माथिल्लो सतहमा रातो थोप्लाहरु हुन्छन् भने तल्लो सतह नरम मखमली (सेतो) हुन्छ । पातको लम्बाई ५.५ देखि १८ सेन्टिमिटर सम्म लामो र २ देखि ४.५ से.मि. चौडाईको हुन्छ । यसको बोक्राको रंग गाढा खैरो भई माथिल्लो सतहमा स–साना मध्यम चतुर्रभुजाकार खस्रो र गहिरो चिरा वा धाँजाहरु फाटेको हुन्छ ।
यसको काठ गाढा रातो, मध्यम किसिमको कडापना तथा तौल भएको चिल्लो र समान वा एकैनासे दानादार हुन्छ । यसको फूल सानो हरियो रंगको भई साधारण किसिमको स्पाईक (सानो डाँक्ला) मा अडिएर रहेको हुन्छ । यसको फल दुबै तिर चुच्चो परेको सुख्खा, एकबिजिय हुन्छ । यो प्रकाश मन पराउने (Light Demander) सुक्खा खप्ने (Draught Hardy), तुषारो नसहने (Frost Tender) र पानि नजम्ने , हल्का भिरालो स्थानमा राम्रो संग हुर्कने प्रजाति हो । यसले साना बिरुवा हुँदा मुना राम्रो दिएतापनि ठुलो रुख भएपछी कम मुना मात्र दिन्छ ।
दारको भौगोलिक वितरण (Geographic Distribution)
वन बिभाग (२०७७) अनुसार यो प्रजाति समुद्र सतहबाट ३०० देखि १७०० मिटरको उचाईमा नेपाल लगायत भारतको गढवाल तथा भुटान सम्म केही भिरालो तथा सुख्खा पाखाहरुमा पाईन्छ । नेपालमा यो प्रजाति प्रायजसो माथिल्लो उचाईको साल वन तथा १५०० मिटर सम्मको टुनी, चाँप, गमारी, सौरका वनमा पूर्वदेखि पश्चिम सम्म ३९ वटा जिल्लामा पाइन्छ । दारको मुख्य प्राकृतिक बासस्थानमा उदयपुर, धनकुटा, पाँचथर, इलाम क्षेत्र, मकवानपुर, चितवनको र नुवाकोटको त्रिशुली क्षेत्र, गोर्खा, तनहू पर्वतको काली गण्डकी किनार, पाल्पा, गुल्मी, दाङ्गको चुरे क्षेत्र, सल्यान,जारजरकोट, सुर्खेत, र डोटी र डडेधुराको चुरे क्षेत्र दारका जङ्गलहरू रहेका छन् ।
मकवानपुरमा दारको छुट्टै अध्ययन छ या छैन त्यसको तथ्यांक हामीसंग छैन तर हाम्रो छलफलको क्रममा पत्ता लागेको चाही मनहरी क्षेत्र, भैंसे भीमफेदी खण्ड, मकवानपुरगढी, ठिंगन, बागमतीको उत्तरी भेगमा यसको उपस्थिति ब्यापक थियो र अहिले थोरै भएपनि प्राकृतिक अवस्थामा र केहि निजि किसानको जग्गामा पाइएको छ । अन्यत्र कहाँ कहाँ कुन अवस्थामा छ खोजि र अध्ययन गर्नुपर्ने डिभिजन वन कार्यालय राप्तीका प्रमुख आचार्यले बताउनुभयो ।
दारको उपयोगिताः
यसको सबैभन्दा बढी र हामीलाई थाहा भएको उपयोगिता चाही काठबाट बनाईने भाँडाकुँडाको लागि हो । यो प्रजातिको काठको स्पेसिफिक ग्राभिटी ०.६५ रहेको हुनाले तुलनात्मक रुपमा अन्यप्रजातिको भन्दा यसको तौल कम हुन्छ जसले भाँडाहरु तुलनात्मक रुपमा हलुका र सहज हुन्छन । यसको काठ मुलत पहाडी भेगमा विभिन्न किसिमका भाँडाकुँडाहरु जस्तै कप, प्लेट, हर्पे, दुँधेरो (दुधदुहुने भाँडो), ठेकी (दही राख्ने वा जमाउने भाँडो) आदि वनाउन प्रयोग गरिन्छ । यी काठका भाडाकुडामा खाध्य वस्तु भण्डारण गरेमा खाध्यवस्तुको स्वाद राम्रो हुने र दहि राम्रोसंग जम्ने विश्वास गरिन्छ । यसको अर्को अत्यधिक प्रयोग डालेघाँसको लागि हुने गरेको छ । गाईबस्तुले निकै मन पराउने हुनाले जंगलको प्राकृतिक अवस्थामा र किसानले सुक्खा याममा घाँसको रुपमा खपत गर्ने गरेका छन् । यसैगरी यसको औषधीय महत्व पनि रहेको छ ।
यो प्रजातिको बोक्रा काटेको घाउबाट रक्तस्राव रोक्न र घाँउ चाँडै निको गाराउनमा प्रयोग गरिन्छ । यसको वोक्रमाहुने चिप्लो पदार्थ सेल रोटी तथा कोदोको रोटी फुलाउनको लागि समेत प्रयोग गर्ने गरिन्छ भने छालामा फोका उठेमा सोको उपचारमा समेत स्थानीय समुदायहरुले यसको प्रयोग गर्ने गरेको पाईन्छ । त्यसै गरी यसको पातलाई कुटेर पेष्ट वनाई धाउमा र हाटखुट्टा भाचिएकोमा र मधुमेह रोगको परम्परागत ओषधिउपचारमा प्रयोग गरिन्थ्यो तर अहिलेको आधुनिक औषधि पद्धतिमा यो चलन क्रमश कम हुदैंछ । साथै यो कम्जोर, भिरालो जमिन, सुक्खा क्षेत्रमा पनि सहज हुर्कने हुनाले क्षतिग्रस्त जमिन र भू क्षयको पुनस्र्थापनामा निकै उपयोगी मानिन्छ ।
दारको प्रसारण विधी र खेतीबिस्तार (Propagation and Cultivation)
यसको बीउ असोज देखि पौष महिनाको बीचमा पाक्ने गर्दछ । यसको बीउहलुका र १ मिलिमिटर (सानो बिउ) सम्मको हुन्छ । यसको नर्सरी प्रविधिअन्य धेरै मासिना बीउहुने वनप्रजातिको विरुवा उत्पादनसँग मिल्दोजुल्दो रहेको छ । बिउ संकलन गरेपछि नर्सरीको सफा जमिनमा माटोमा बालुवा मिक्स गरेर वा ट्रे मा वालुवा माटोको मिश्रणमा पातलो गरि छर्ने र त्यसमाथि पातलो बालुवा छरेर थोरै चिस्यानमा यसको बिरुवा राम्रो उम्रन्छ ।
सम्भव भएसम्म यसलाई प्लास्टिकको झिल्लीले छोप्ने वा छहारीको व्यवस्था गर्ने तर सिधै माथिबाट पानीको थोप्ला पर्न नदिने । पानीको ठुलो थोप्ला भएमा भाचिने र मर्ने हुन्छ । बढी पानि भएमा बिउ बगाउने र सानोमा नै बिरुवा मर्ने डर हुन्छ । सानोमा बिरुवा अत्यन्त सानो उम्रने हुँदा निकै स्याहार गर्नुपर्ने हुन्छ । यो प्रजातिको प्रसारण कलमी हाँगा कटिंग विधिबाट समेत गर्न सकिन्छ । पछी बिरुवालाई स्थानीय माग अनुसार साना वा ठुला पोलिथिन ब्यागमा सारेर वृक्षारोपण स्थलमा लगेर रोप्ने तर यो बिरुवालाइ गाईबस्तु र जंगली जनावरबाट जोगाउन सुरुमा नै बारबेरको राम्रो व्यवस्था गर्नु पर्दछ ।