हेटौंडा \ बागमती प्रदेशमा ४ जना डेङ्गु सङ्क्रमितको मृत्यु भएको छ । ललितपुरमा दुई जना र धादिङ,मकवानपुरका एक/एक जनाको डेङ्गु सङ्क्रमणको कारण मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डाक्टर अर्जुन प्रसाद सापकोटाले ललितपुरमा डेङ्गु सङ्क्रमणका कारण दुईजनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनका अनुसार इमाडोलकी ३८ बर्षीय महिला र थैवका ७१ बर्षीय पुरुषको डेङ्गु सङ्क्रमणको कारण मृत्यु भएको जानकारी दिए । यसअघि डेङ्गु सङ्क्रमित भएर चितवनमा उपचारको क्रममा मकवानपुरका ४१ बर्षीय पुरुष र चितवनमै उपचारको क्रममा धादिङकी ७२ बर्षीय महिलाको मृत्यु भएको थियो ।
स्वास्थ्य मन्त्रालयका अनुसार भदौ ९ गते शनिवार सम्म प्रदेशका १३ जिल्लामा तीन हजार ९२९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा.रविन भुसालले जानकारी दिए । प्रदेशका १३ जिल्लामा १ जनवरी २०२३ देखि हालम्म सबैभन्दा बढी धादिङमा डेङ्गु पुष्टि भएको छ । मन्त्रालयको तथ्याङक अनुसार धादिङमा २ हजार ५५३, काठमाडौंमा ४०६, मकवानपुरमा २५५, ललितपुरमा १९४, चितवनमा १७५, भक्तपुरमा १२९, नुवाकोटमा ७९, रामेछापमा ४२, काभ्रेपलाञ्चोक ३९, सिन्धुलीमा २७, सिन्धुपाल्चोक र दोलखामा १२/१२ जनामा डेङ्गु पुष्टि भएको छ ।
सबैभन्दा कम रसुवामा ६ जनामा डेङ्गुु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शनिवार ३९ जनामा डेङ्गुु पुष्टि भएको तथ्याङ्क छ । मन्त्रालयका अनुसार जनवरीमा ५७, फेरब्रुअरीमा ३०, मार्चमा २९, अप्रिलमा ५२, मेमा २७, जुनमा ११८, जुलाईमा ८६२ र अगस्ष्ट २५ सम्म तीन हजार ९२९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भईसकेको छ ।
पछिल्लो एक साताको तथ्याङ्क अनुसार दोलखा, सिन्धुपाल्चोक र रसुवामा डेङ्गुु सङ्क्रमितको सङ्ख्या स्थित रहेको छ भने धादिङ, काठमाडौं, भक्तपुर, ललितपुर नुवाकोट, रामेछाप, चितवन, काभ्रेपलाञ्चोक, सिन्धुली र मकवानपुरमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउछ ।
डेङ्गुु सङ्क्रमणबाट आफु र आफ्ना परिवारलाई जोगाउन लामखुट्टेको टोकाईबाट बच्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । सुत्दा झुलको प्रयोग गर्न, लामखुट्टेको टोकाईबाट बचाउने धुप तथा झोलको (रिपेलेन्ट) प्रयोग गर्न, ट्याङ्की र कुलरहरु कम्तीमा हप्तामा एक पटक सरसफाई, वरपर पानी जम्न नदिने, पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउन र डेङ्गुुका कुनैपनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्थामा जानको लागि आग्रह गरिएको हो ।
भदौमा डेङ्गुु सङ्क्रमण भएका बिरामीको सङ्ख्या बढेको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार सन् २०१९ मा ४ हजार ५४ जना, २०२० मा ८६, २०२१ मा १२८ जनामा डेङ्गुु सङ्क्रमण देखिएको थियो भने सन् २०२२ को जुलाईदेखि २०२३ को जुनसम्म यस प्रदेशमा ४२ हजार ७१४ जनामा डेङ्गुु रोग सङ्क्रमण भएको मन्त्रालयको तथ्याङ्क छ । चालु आर्थिक वर्षमा स्वास्थ्य मन्त्रालयले डेङ्गुु प्रकोप नियन्त्रणका लागि महामारीजन्य रोगहरु नियन्त्रण र रोकथाम गर्न बिभिन्न शिर्षकमा तीन करोड १२ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको मन्त्रालयका सूचना अधिकारी डाक्टर भुषालले जानकारी दिए । गोरखापत्र दैनिकबाट