हेटौंडा \ नवोदय शिशु सदनको आयोजनामा हेटौंडामा अन्तर्राष्ट्रिय नीतिनियम, योजना तथा समस्याको समाधानबारे वृहत विश्लेषणसहितको नमूना संयुक्त राष्ट्र संघीय सभाको आयोजना हुने भएको छ । विद्यार्थीहरुको नेतृत्व र व्यक्तित्व विकास, समालोचनात्मक सोचाई, सहकार्यलगायतका अन्तरनिहित प्रतिभाको विकास गराउने उद्देश्यले विद्यालयले एक वैचारिक कार्यक्रमको आयोजना गरेको हो ।
आगामी भदौ १४ गतेदेखि १६ गतेसम्म हेटौंडामा नमूना संयुक्त राष्ट्रसंघीय सभाको आयोजना गरिएको सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । संयुक्त राष्ट्र संघीय सभामा हुने कार्यक्रमहरुको नक्कल गरी सहभागीलाई विश्वव्यापी मुद्दाहरु र यसको सम्भावित समाधानहरुको बारेमा धारणा राख्ने मौका दिइने जनाइएको छ । कार्यक्रममा विभिन्न राष्ट्रका प्रतिनिधिको भूमिका निर्वाह गर्दै विद्यार्थीले राष्ट्रकै पक्षमा रहेर विश्वव्यापी मुद्दामा छलफल गर्ने नवोदयन नमूना संयुक्त राष्ट्रसंघका महासचिव रायन खनालले जानकारी दिए ।
नमूना राष्ट्र संघीय सभाका लागि ७ वटा निकायहरु पहिचान गरिएको छ । राष्ट्र संघका विभिन्न निकायको कार्य क्षेत्र भिन्दा भिन्दै हुन्छन् र तिनै कार्य क्षेत्रका मुख्य पूर्व निर्धारित समस्यामा वृहत छलफल गरेर कार्यक्रमलाई संचालन गरिने बताइएको छ । नमूना संयुक्त राष्ट्रसंघीय सभामा विश्व स्वास्थ्य सङ्गठन, संयुक्त राष्ट्र सुरक्षा परिषद, आर्थिक र वित्तीय मामिला परिषद, खाद्य र कृषि सङ्गठन, अन्तर्राष्ट्रिय श्रम सङ्गठन, संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम र प्रतिनिधि सभा गरी ७ वटा निकायहरु परिकल्पना गरिएको छ । ती सातवटै निकायहरुको एजेन्डाहरुको पूर्वनिर्धारण गरिएको छ ।
कार्यक्रममा हेटौंडा–४ मा रहेको नवोदय शिशु सदनसहित मकवानपुर बाल विद्या सदन, कमाने एकेडेमी, चितवनको अर्किड स्कूल, नवलपरासीको गैंडाकोट स्कूल, बुटवलको एपेक्स स्कूलका विद्यार्थीले पनि सहभागिता जनाउनेछन् । क्लव हेटौंडा पार्टी प्यालेसमा हुने नमूना संयुक्त राष्ट्रसंघीय सभामा करिब एक सय ६० जना विद्यार्थीको सहभागिता रहने अनुमान गरिएको छ ।