हेटौंडा \ राष्ट्रिय योजना आयोग, बागमती प्रदेश नीति तथा योजना आयोग र संयुक्त राष्ट्र संघले संयुक्त रूपमा सदस्य राष्ट्रहरूले अपनाएका मानिसहरू र पृथ्वीका लागि दीगो विकास लक्ष्यहरू (SDGs) को मध्यावधि प्रगति समीक्षा गर्न दिगो विकास लक्ष्यको दृष्टिकोणमा तीव्रता सम्बन्धी कार्यशाला गोष्ठी बुधबार हेटौडामा भएको छ ।
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष प्रा.डा नरविक्रम थापाको सभाध्यक्षतामा भएको कार्यक्रममा आयोगका सदस्य डा. किरण गजुरेलले दीगो विकास लक्ष्यहरुको स्थानीयकरणका प्रयासहरुबारे आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै, कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव डा. गणेशराज जोशीले दीगो विकास लक्ष्यहरुलाई तीव्रता दिने दृष्टिकोणको रुपरेखा प्रस्तुत गरेका थिए । कार्यक्रममा संयुक्त राष्ट्र संघीय आवासीय प्रतिनिधिको कार्यालयका आर्थिक तथा दीगो विकास सल्लाहकार सुभाष नेपालीले नेपालको दीगो विकास लक्ष्यहरुको अवस्थाको तथ्याङ्कीय सारसंक्षेप प्रस्तुत गरेका थिए ।
२०२३ सेप्टेम्बरमा हुने दीगो विकास लक्ष्य शिखर सम्मेलनको पूर्व तयारीको रुपमा SDG Acceleration Visioning Workshop ले नेपालको दीगो विकास लक्ष्यको प्रगति स्थिति समीक्षा गर्ने, सन् २०३० सम्मको लक्ष्य प्राप्त गर्न प्राथमिकता क्षेत्रहरूको पहिचान गर्ने र सन् २०२६ सम्मको लक्ष्य प्राप्त गर्न आवश्यक तीव्रता लिन कार्यदिशा तयार गर्नेछ । यसले दीगो विकास लक्ष्यको प्रगतिलाई गति दिने प्रयासहरूलाई प्रादेशिक र स्थानीय सरकारहरू, नीति निर्माता, निजी क्षेत्र, नागरिक समाज र विकास साझेदारहरू लगायत बहुसरोकारवालाहरूको सहकार्यमा विभिन्न कार्यक्रम संचालनमा रहेका छन् ।
नेपाल सरकारको १५ औं योजना, यसका नियमित कार्यक्रमहरू र नीतिहरूमार्फत दीगो विकास लक्ष्यहरूले तय गरेका उद्देश्य प्राप्ति गर्न विशेष प्राथमिकता दिएको छ । नेपालले आर्थिक रूपान्तरणलाई उत्प्रेरित गर्ने सम्भाव्यता भएका प्रमुख क्षेत्रहरू पहिचान गरेको छ । यसले गर्दा दीगो विकास लक्ष्य र अति कम विकसित राष्ट्रबाट स्तरोन्नतिमा सहयोग पुग्नेछ । यसै सन्दर्भमा दीगो रोजगारी विकासको लक्ष्य दृष्टिकोणमा तीव्रता ल्याउन सरोकारवालाहरू माझ जलवायु परिवर्तन, विकास वित्त, र सामाजिक सुरक्षा, खाद्य प्रणाली र पोषण, शिक्षा र स्वास्थका विषयमा समुहगत छलफल गरी सन् २०३० सम्म लक्ष्य प्रातिमा देखिएका चुनौती र सन् २०२६ सम्मको आधार पहिचान गर्न सहयोग पुर्याउनेछ ।
जलवायु प्रकोप, भूराजनीतिक अवस्था, विश्वव्यापी आर्थिक मन्दी, र विश्वव्यापी रूपमा कोभिड– १९ लगायतका कारणले पूर्व निर्धारित लक्ष्य हासिल गर्न समस्या देखिएको हो । यस कार्यशालाबाट प्राप्त हुने सुझावहरूका आधारमा दीगो विकास लक्ष्यलाई तीव्रता दिन तयार गरिने राष्ट्रिय दृष्टिकोणलाई २०२३ सेप्टेम्बर १८-१९ मा संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजना हुने दीगो विकास लक्ष्य शिखर सम्मेलनमा नेपालको प्रतिवद्धताका रूपमा विश्व नेताहरू समक्ष प्रस्तुत गरिनेछ ।
कार्यक्रममा दिगो विकास लक्ष्यको दृष्टिकोणमा तीव्रताका लागि जलवायु परिवर्तन, विकास वित्त, रोजगारी र सामाजिक सुरक्षा, खाद्य प्रणाली र पोषण, शिक्षा र स्वास्थ्य विषयमा छलफल गरिएको थियो । कार्यक्रममा स्थानीय तहका प्रमुख, स्वास्थ्य क्षेत्रमा प्रतिनिधि, कृषिका प्रतिनिधि, खाद्यका प्रतिनिधि, मन्त्रालयका प्रतिनिधि, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।