हेटौंडा \ बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले आफ्नो सय दिने कामका उपलब्धी र आगामी योजना सार्वजानिक गर्नुभएको छ । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्री जोशीको सय दिनमा विपन्न असहाय, वेवारिसे विरामीलाई निशुल्क वेड व्यवस्था गर्नुका साथै दीर्घरोगी जेष्ठ नागरिकहरुलाई निशुल्क उपचारमा जोड रहेको बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयको गौरवको योजना विदालय नर्सलाई निरन्तरता दिनुका साथै प्रदेशभित्र बसोबास गर्ने लोपोन्मुख तथा सीमान्तकृत जातिहरु, आश्रममा आश्रित असहाय ६३७ जना नागरिकको निशुल्क स्वास्थ्य वीमा गरिएको मन्त्री जोशीले बताउनुभयो ।
धुलिखेलको जनस्वास्थ्य प्रयोगशाला चितवन विस्तार गर्नुका साथै स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र मार्फत निशुल्क औषधिहरु स्थानीय तहका स्वास्थ्य चौकी सम्म लगिएको छ । हामीले ज्यान जोखिममा परेका गर्भवति तथा सुत्केरी महिलाहरुको लागि निशुल्क हवाई उद्धार सम्बन्धी कार्यविधि, २०८० मन्त्रिपरिषदबाट पास गरेका छौं, मन्त्री जोशीले भन्नुभयो ।
३२ बुँदामा उपलब्धी सार्वजनिक गर्दै मन्त्री जोशीले भन्नुभयो, अहिले डेङ्गुको जोखिम बढेको छ, सोही अनुरुप धादिङमा दुई हजार पाँच किट र जनस्वास्थ्य प्रयोगशालाका साथै अस्पतालहरुमा आठ हजार नौ सय किटहरु निशुल्क उपलब्ध गराएका छौं ।
उपलब्धी सँगै मन्त्री जोशीले चालु आवमा गरिने योजनाहरुबारे जानकारी गराउनुभएको थियो । उहाँले एक प्रदेश निर्वाचन क्षेत्र एक अस्पताल सुदुढिकरण कार्यक्रमलाई ११ करोड ५२ लाख ५० हजार बजेट राखिनुका साथै स्थानीय तहका स्वास्थ्य संस्था सवलिकरण कार्यक्रमलाई १० करोड २२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताउनुभयो । नसर्ने रोगको पहिचानका लागि परिक्षण र परामर्श, क्यान्सर रोग लागेका विपन्न विरामीलाई उपचारमा सहुलियत, ह्दयघात भएका विरामीका लागि उपचारमा सहुलियत र मस्तिष्कघात रोग उपचारमा सहुलियत गर्ने कार्यलाई निरन्तरता दिने मन्त्री जोशीले बताउनुभयो ।
थप एक सय १५ वटा विद्यालयमा विद्यालय नर्स राखिनुका साथै आँखा अस्पताल, आर्युवेद अस्पतालहरुलाई थप व्यवस्थित बनाई सेवा विस्तार गरिने बताउँनुभयो । एक जिल्ला एक जडीबुटी उद्यान निर्माण अभियान सञ्चालन गरिनुका साथै भान्साघरमा उपलब्ध हुने औषधीय गुण भएका खाद्यपदार्थलाई प्रयोग गरि भान्साघर औषधालय कार्यक्रम सञ्चालन गरिने मन्त्री जोशीले बताउनुभयो ।
प्रदेश जनसंख्या नीति तर्जुमा गर्नुका साथै उपचार व्यवस्थापन निर्देशिका बनाई कार्यान्वयनमा ल्याउने मन्त्रालयको तयारी रहेको छ । मन्त्रालयले पछिल्लो समय देखीएको डेङ्गु संक्रमणको महामारीलाई निर्मुल पार्न जिल्ला स्थित अस्पताल तथा स्वास्थ्य संस्थाहरु मार्फत तीव्रगतिमा काम गरिरहेको मन्त्री जोशीले भन्नुभयो ।
कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठ, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विश्वराज जोशी लगायतको सहभागिता रहेको थियो ।
यहाँ हेर्न सकिन्छ मन्त्रीका उपलब्धी र आगामी योजना