चलचित्र ‘ऐंचो पैंचो’ र ‘गणपति’ जनैपूर्णिमा तथा गाईजात्राको सार्वजनिक विदाको अवसर पारेर बिहीबारबाटै प्रदर्शन भएका छन् । नभए शुक्रबार मात्र चलचित्र रिलिजको प्रचलन छ । रोचक संयोग चाहिँ के जुरेको छ भने दुईवटै चलचित्रमा प्रमुख कलाकार एउटै छन्, मुकुन भुषाल र राजाराम पौडेल । यद्यपि, दुवै चलचित्रको विषयवस्तु नितान्त फरक छन् । तर पनि भिडन्तको असर दुबै चलचित्रको व्यापारमा देखिन सक्नेछ ।
‘काले केटाले’ गीतको लोकप्रियताका कारण चर्चामा रहेको ‘ऐंचो पैंचो’मा नाम चलेका कलाकारहरुको जत्था छ । प्रचार पनि चुस्त छ । यसैले देशका अधिकांश मल्टीप्लेक्स हलहरुले चलचित्रप्रति ठूलो अपेक्षा राखेर सुखद शो बाँडेका छन् । त्यसमाथि प्रदर्शनको पहिलो दिन नै सार्वजनिक विदाको अवसर मिलेको छ । जसका कारण चलचित्रको ओपनिङ राम्रो रहन सक्ने प्रक्षेपण गरिएको छ ।
चलचित्र निर्माणमा १५ वर्षको अनुभवपछि ‘ऐंचो पैंचो’बाट कृषा चौलागाईंले निर्देशकीय यात्रा सुरु गरेकी छिन् । यो चलचित्रमा स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुषाल, सुशील सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी आदिको अभिनय रहेको छ । चलचित्रमा अभिमन्यू निरवीको लेखन र पुरुषोतम प्रधानको छायांकन रहेको छ ।
‘गणपति’लाई भने निर्माताले नामजस्तै भगवान् भरोसामा छाडिदिएका छन् । अर्थात् प्रचारबिनै चलचित्र हलमा लागेको छ । चलचित्र को ट्रेलर र ‘उनभित्र गुन’ गीत भने रुचाइएको छ । सविन अधिकारीको निर्देशन रहेको चलचित्रमा मुकुन र राजारामसँगै मेनुका प्रधान, सूर्यमाला खनाल, प्रकाश घिमिरे, सुशील पोखरेललगायतको अभिनय छ । चलचित्रको प्रस्तुतकर्तामा रामप्रसाद रिजाल रहेका छन् । हेटौंडामा पनि दुबै चलचित्र प्रदर्शनमा आएका छन् । ‘ऐंचो पैंचो’ हेटौंडामा पनि छाँयाकन गरिएको चलचित्र हो ।