हेटौंडा \ आत्महत्या रिपोर्टिङ सम्बन्धी पत्रकारलाई एक दिवसीय कार्यशाला गोष्ठी मंगलबार हेटौंडामा भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्रको आयोजनामा भएको गोष्ठीमा मकवानपुर सहित बागमती प्रदेशका गरी ५० भन्दा बढी पत्रकारहरुको सहभागिता रहेको थियो ।
केन्द्रका निमित्त निर्देशक शीला श्रेष्ठको सभाध्यक्षता तथा बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री मसिना खड्काको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौंडा अस्पतालका डा. उद्धव लामा, प्रदेशको स्वास्थ्य मन्त्रालयका निमित्त सचिव दीपक तिवारी, केन्द्रका निमित्त निर्देशक शीला श्रेष्ठले आत्महत्या घटनाका विवरण प्रस्तुत गर्नुका साथै आत्महत्या घटनाको विषयमा समाचार सम्प्रेषण गर्दा पत्रकारले ख्याल गर्नुपर्ने कुरा र प्रयोग गर्नुपर्ने भाषाका विषयमा वृहत छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै मन्त्री खड्काले नकरात्मक सोचले आत्महत्या बढेको बताइन् । उनले स्थानीय सरकारले विद्यालय, समूदाय, टोलटोलमा विभिन्न कार्यक्रम गर्नुपर्नेमा जोड दिदैं अभिभावकले आफ्ना सन्तानहरु प्रति बढि चासो निगरानी गर्न सके आत्महत्याका घटना कम हुने बताइन् । गाउँगाउँ, शहरशहरमा सचेतना फैलाउनुका साथै आत्महत्याका घटनालाई बढी प्राथमिकतामा राखेर समाचार नलेख्न आग्रह समेत गरेकी छिन् ।
कार्यक्रममा मानसिक स्वास्थ्य, आत्महत्या गर्नुको कारण, रोकथामका विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो । मानिसहरु झुण्डिएर, विष प्रयोग गरेर, हाम फालेर आत्महत्या गरेको पाइएको जनाइएको छ ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका नि. सचिव दीपक तिवारी, स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका निर्देशक महेश्वर श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीका प्रमुख सल्लाहकार विश्वरुप खड्का, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव प्रसाद देवकोटा लगायतले आत्महत्या सँग जोडिएका विषयमा आफ्ना भनाई राखेका थिए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण मिजार, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्रका इन्द्र बहादुर बानियाँ, डब्लु एचएका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।