हेटौंडा \ मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ मा रहेको दरबारडाँडा सामूदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा दार पकेट क्षेत्र घोषणा गरिएको छ । विहीबार डिभिजन वन कार्यालय राप्ती मनहरीको आयोजनामा एक कार्यक्रमको आयोजना गर्दै दार वृक्षारोपण गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष हिदम लामाको सभाध्यक्षता तथा बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञप्रसाद दाहालको प्रमुख आतिथ्यतामा दार पकेट क्षेत्र घोषणा गरिएको हो । मकवानपुरको चिनारीको रुपमा रहेको दारको ठेकी लोपहुदैँ गए पछि मकवानपुरको विभिन्न स्थानहरुमा दारको वृक्षारोपण कार्यलाई डिभिजन वनले गर्दै आइरहेको छ ।
दरबारडाँडा वनको करिब २ हेक्टर क्षेत्रफलमा १ हजार ४५० वटा विरुवा रोप्ने लक्ष्य लिइएको छ । विहीबारबाट सुरु गरिएको विरुवा रोप्ने कार्यक्रममा पहिलो चरणमा ८ सय वटा विरुवा र दोस्रो चरणमा ६५० वटा विरुवा रोप्ने कार्यक्रम रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।
कार्यक्रममा डिभिजन वन कार्यालय राप्तीका प्रमुख विष्णु प्रसाद आचार्य, डिभिजन वन कार्यालय मकवानपुर हेटौंडाका प्रमुख शिवप्रसाद सापकोटा, सहायक वन अधिकृत बसन्तराज गौतम, भीमफेदी वडा १ का वडा अध्यक्ष सोम बहादुर स्याङ्तान, मकवानपुरगढी ५ का वडा सदस्य अर्जुन बहादुर रुम्बा, वन समूहका अध्यक्ष पूर्ण बहादुर स्याङ्तान, सचिव शर्मिला महत, बद्री प्रसाद अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।
मकवानपुरमा पहिलो पटक दार पकेट क्षेत्र घोषणा गरिएको हो । मकवानपुरको पहिचान दारको ठेकीलाई पुनर्जीवन दिने उद्देश्यले दारको विरुवा लगाउने अभियानमा लागिएको डिभिजन वन कार्यालय राप्तीका प्रमुख विष्णु प्रसाद आचार्यले बताए । पछिल्लो समय दार लोपोन्मुख हुने अवस्थामा पुगेकोले पनि दार वृक्षारोपणमा सबै सामूदायिक वनकर्मीहरु लाग्नुपर्ने बताएका छन् ।
यस अघि बकैया गाउँपालिका वडा नम्बर १२ चपकीमा पनि एक हजार दारको विरुवा रोप्ने काम भइसकेको छ ।