हेटौंडा \ मानव अधिकारकर्मी, अधिवक्ता तथा उपप्राध्यापक कृष्ण प्रसाद दाहाललाई छाँयादेवी स्मृति मानव अधिकार सम्मान-२०८० बाट सम्मान गरिएको छ । नेपाल मानव अधिकार संगठन मकवानपुरले दाहाललाई शुक्रबार नगद सहित सम्मान गरिएको हो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानले उहाँलाई सम्मानपत्रले सम्मान गरेका थिए ।
घलानको प्रमुख आतिथ्यता तथा संगठनका अध्यक्ष शर्मिला श्रेष्ठको सभाध्यक्षतामा सम्मान तथा सातौं वार्षिक साधारण सभा भएको थियो । कार्यक्रममा राष्ट्रिय मानव अधिकारी आयोग बागमती प्रदेश कार्यालयका अधिकृत लोकनाथ घिमिरे, वरिष्ठ अधिवक्ता केशव प्रसाद काफ्ले, संगठनका संस्थापक अध्यक्ष कृष्णप्रसाद दाहाल, संगठनका प्रदेश अध्यक्ष अप्सरा बस्नेत, गैसस महासंघ मकवानपुरका अध्यक्ष रमिला सापकोटा, नेपाल पत्रकार महासंघ मणिराज गौतमलगायतले आफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा संगठनका प्रदेश अध्यक्ष एंव जिल्ला अदालत बार एशोसिएसन मकवानपुरका अध्यक्ष अप्सरा बस्नेतले महिला विरुद्धको भेदभाव सम्बन्धी कार्यपत्र प्रस्तुत गरेकी थिइन् । साधारण सभा समेत रहेको कार्यक्रममा संगठनका कोषाध्यक्ष तेजकुमारी थापाले आर्थिक प्रतिवेदन र अध्यक्ष श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मामाघर नेपालका संरक्षक अपर्ण पराजुली, मानव अधिकारकर्मी आरती पाठक, इन्द्र नेपाल लगायत मानव अधिकार सम्बन्धी विभिन्न संघसंस्थाका प्रमुख, प्रहरी, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।