हेटौँडा \ मध्येपृतना मुख्य कार्यालय हेटौँडामा सञ्चालन भएको सी.स. ११ सैन्य आधार तालिमको अन्तिम देलेल कवाज प्रदर्शन (दीक्षान्त समारोह) सोमबार भएको छ। मध्यपृतना हेडक्वाटरका पृतनापति उपरथी प्रदीपजंग केसीले तालिममा सहभागी ९६ जना सैनिकलाई तालिम सफलतापूर्वक सम्पन्न गरी सिपाही दर्जामा नियुक्त हुने सैन्यहरूलाई बधाई तथा शुभकामना दिनुका साथै तालिम टोलीद्वारा प्रदर्शन गरिएको कवाजको निरीक्षण गर्नुभएको थियो ।
उहाँले तालिम पश्चात् राष्ट्र, जनता र संस्थाप्रति समर्पित भएर लाग्न निर्देशन दिर्दै नेपाली सेनाको मूल्य मान्यता र परम्परालाई पालन गर्दै जस्तोसुकै परिस्थितिमा पनि राष्ट्र, नेपाली जनता र नेपाली सेनाप्रतिको जिम्मेवारी पुरा गर्न निर्देशन दिनुभयो । “माटोले माग्दैन, आफैँले दिनुपर्छ,”उहाँले भन्नुभयो ।
नेपाली सेनाको छवि उच्च राख्न सैनिक मर्यादामारहि काम गर्न निर्देशन दिर्दैै सिपाही बलियो भए मात्रै सेना बलियो हुने र सेना बलियो भयो भने मात्रै देश बलियो हुने उहाँको भनाइ छ । भविष्यमा आइपर्ने कुनैपनि चुनौतीलाई जित्न शारीरिक, मानसिक र नैतिक साहस तालिमको दौरान प्रदान गरिएको उहाँले विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सी.स.११ सैन्य आधार तालिममा सर्वोत्कृष्ट हुन सफल पाल्पा जिल्ला रम्वा गाउँपालिका वडा नं. १ निवासी रवि पाडे मगर सैद्धान्तिक तथा व्यवहारिकतर्फ उत्कृष्ट अङ्क हासिल गरी ९६ जना सैन्यहरूमा प्रथम हुन सफल हुनुभएको थियो । त्यस्तै, दौडमा होमबहादुर सोमै, फायरिङ्गमा अर्जुन पाठक र ड्रिलतर्फ अजय तामाङ प्रथम हुनुभएको छ । उहाँहरूलाई पृतनापति उपरथी केसीले पुरस्कृत गर्नुभएको हो ।
दीक्षान्त समारोहमा नेपाली सेनाका पदाधिकारी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, पत्रकार एवं दीक्षित भएका सिपाहीहरूका परिवार तथा आफन्तहरूको सहभागिता रहेको थियो । दीक्षान्त समारोह स्थलमा दीक्षित हुनुभएका सिपाहीहरूका परिवार फुलमाला सहित शुभकामना र बधाई दिन पुग्नुभएको थियो ।-गोरखापत्रबाट