मकवानपुरगढी \ बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कृषि क्षेत्रमा गरिएको लगानीमा प्रदेश सरकारले साथ दिने बताउनुभएको छ । मंगलबार मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ सानो सुकौरामा माइती नेपाल र द कोकाकोला फाउण्डेशनको सहकार्यमा निर्माण हुन लागेको एकीकृत कृषि फार्म तथा तालिम केन्द्र भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुदैं मुख्यमन्त्री जम्कट्टेलले कृषि र पशु सम्बन्धी तालिम र व्यवसायिक कामका लागि प्रदेश सरकारले पनि साथ सहयोग गरिने बताउनुभएको हो ।
उहाँले एकीकृत कृषि फार्म तथा तालिम केन्द्रलाई आवश्यक परेको कृषिजन्य सामाग्री हुन्छ कि अन्य सहयोग हुन्छ सरकार तयार रहेको भन्नुहुँदै मानव बेचविखनको शिकार बनेका र जोखिममा परेका महिला दिदीबहिनीहरुलाई यस्ताखाले सीपमुलक तालिम प्रदान गरिन लागेकोमा धन्यवाद समेत व्यक्त गर्नुभयो । उहाँले माइती नेपालको इतिहास लामो रहेकाले सरकारले गरिनुपर्ने सहयोगमा आफु प्रतिवद्ध रहेको बताउनुभयो ।
माइती नेपालका संरक्षक अनुराधा कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, प्रदेश सभा सदस्यहरु ईन्द्र बहादुर बानियाँ, कन्चन बादे, एकालाल श्रेष्ठ, द कोकाकोला फाउण्डेसनका प्रतिनिधि आदित्य पाण्डा, जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर घलान, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाई लगायत सुरक्षा निकायका प्रमुखहरुको आतिथ्यता रहेको थियो ।
द कोकाकोला फाउण्डेशनको क्रमागत आर्थिक सहयोगमा यस वर्ष एक करोड ९० लाख लगानीमा भवन संरचना अन्तरगत महिला होस्टल, तालिम हल र २० वटा गाई अट्ने गोठ निर्माण गरिने कार्यक्रम प्रवन्धक रामशरण पौडेलले बताउनुभयो । सुकौरा एग्रो प्रा.लिको नाममा रहेको ६५ रोपनी क्षेत्रफलमा फैलिएको जमिन निशुल्क भाडामा लिएर माछा पालन, कुखुरा, बंगुर, गाईभैसी, तरकारी खेती गर्ने लक्ष्य रहेको पौडेलले बताउनुभयो । हामीले १० वर्षको लागि भाडामा लिने सम्झौता गरेका छौं यसलाई हामी पछि थप्दै ३० वर्ष सम्म गर्ने योजना रहेको छ, पौडेलले भन्नुभयो ।