हेटौंडा \ बुधबार हेटौँडा–१ मा रहेको सञ्चो हस्पिटलका डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि भएको सांघातिक आक्रमणमा संलग्न मध्ये चार जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बिहान ८/१० जनाको समूहमा आएका व्यक्तिहरुले सञ्चो हस्पिटलमा कार्यरत डाक्टरद्धय माथि मुक्का प्रहार गर्दा गम्भिर घाइते भएका थिए । डाक्टरमाथि सांघातिक आक्रमणमा संलग्न मध्येका रमा प्रधान, रोहित प्रधान, अनुप प्रधान र रमिता प्रधानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
एक महिनाअघि डेंगु सङ्क्रमित हेटौंडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै डाक्टरमाथि आक्रामक भएको हो। डेंगु सङ्क्रमित प्रधानको चितवनस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो । कुटपिटमा संलग्न प्रधानको श्रीमती, छोरी, छोरा, र भतिजा अनुपलाईलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रशासन र प्रहरीले दोषीलाई कारवाहीमा चासो नदेखाउनु ,उजुरी दर्ता गर्नुको सट्टा दोषीलाई उन्मुक्ति दिने प्रयास भइरहेको मकवानपुरका स्वास्थ्यकर्मीले प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाई र प्रहरी प्रमुख (एसपी) सीताराम रिजालको भुमिकालाई लिएर चर्को आलोचना भइरहेको अवस्थामा घटनामा संलग्न दुई जना पक्राउ गरिएको छ ।
यता बुधबार घटनाको बिषयमा बुझ्दा एसपी रिजाल, डिएसपी एवं प्रवक्ता लक्ष्मी भण्डारी र मकवानपुरका सिडिओ सुर्य प्रसाद सेढाईले फोन उठाएनन् भने घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय पुगेका संचारकर्मीलाई भित्र छिर्न दिएका थिएनन् ।
यता बुधबार अवेरसम्म वार्ताको नाममा पीडित डाक्टरहरुलाई नै हतोत्साहित गर्ने काम भएपछि बिहिबार बिहान हेटौँडा अस्पतालमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्था सञ्चालकहरुले छलफल गरी सामूहिक रुपमा मुद्दा दर्ता गर्ने निस्कर्षमा पुगेको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ मकवानपुरका अध्यक्ष भोला चौलागाईले बताएका छन् । यता घटनालाई लिएर प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख चर्को आलोचना भइरहेको छ । घटनालाई राजनीतिको रुपले हेरिएको भनी प्रहरी प्रमुख र सिडियोको विषयमा सामाजिक सञ्जालहरुमा टिकाटिप्पणी भइरहेको छ ।
यता स्वास्थ्यकर्मी महासंघ र नेपाल चिकित्सक संघले दोषीलाई कारवाही नगरे कडा आन्दोलन गरिने विज्ञप्ती जारी गर्दै कानुनी कारवाही गर्न माग गरेका छन् ।