हेटौंडा \ बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले विज्ञान र प्रविधिको जमानामा प्रहरीहरुले पनि सोही अनुरुप अन्तराष्ट्रिय तहको विज्ञान प्रविधिको प्रयोग गर्न जरुरी रहेको बताएका छन् । शुक्रबार मकवानपुरको हेटौंडा १३ पदमपोखरी प्रहरी चौकीको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले बागमती प्रदेशका प्रहरीहरुलाई अत्याधुनिक उपकरणले युक्त प्रविधि मैत्री बनाउँदै लैजाने बताए ।
मन्त्री श्रेष्ठले अहिलेको प्रहरीको क्षमतालाई गुणात्मक ढगले वृद्धि गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्दै देशका प्रहरीहरुलाई नागरिक मैत्री बनाउने कुरामा प्रदेश सरकार लागीरहेको बताए । नेपाल सरकारले २०८० भाद्र मसान्तसम्म प्रहरी समायोजन सम्पन्न गर्ने प्रतिवद्धता गरेको थियो, सो प्रतिवद्धता अनुसार प्रहरी समायोजन नहुने भएपछि मन्त्री श्रेष्ठले नेपाल सरकारविरुद्ध सम्मानित सर्वोच्च अदालतमा मुद्दा हाल्न बाध्य हुँदै गएको धारणा राखेका थिए ।
कार्यक्रममा सामाजिक विकास मन्त्री कुमारी मोक्तानले पदमपोखरीमा प्रहरी चौकी स्थापना हुनु खुसीको कुरा भएको भन्दै यहाँ नागरिक र प्रहरीले समन्वय र सहकार्यमा कार्य गर्नुपर्नेमा जोड दिइन् । मन्त्री मोक्तानले पदमपोखरीमा इलाका प्रहरी कार्यालय आवश्यक रहेको भन्दै यसका लागि पहल भइरहेको बताउनुभयो ।
बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको २ करोड २६ लाख १५ हजार १ सय १७ रुपैया बजेटमा १ कठ्ठा ९ धुर क्षेत्रफलमा महिला पुरुष अलग अलग हिरासत कक्ष, महिला व्यारेक, कार्यालय प्रमुख निवास सहित ३ तलाको प्रहरी चौकीको निर्माण भएको हो ।
कार्यक्रममा मन्त्रालयका उपसचिव दीपक प्रसाद न्यौपाने, प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाई, प्रहरी नायव महानिरीक्षक किरण राणा, हेउनपा १३ का वडा अध्यक्ष पेम्बा लामा, मकवानपुर प्रहरी प्रमुख सीताराम रिजाल, प्रहरी उपरिक्षक चित्र गुरुङ, राकेश सिंह, सशस्त्र प्रहरी उपरिक्षक अनिल कार्की लगायतको उपस्थिति रहेको थियो ।