हेटौंडा \ मातृभूमि साहित्य समाजले हरेक वर्ष प्रदान गर्ने मातृभूमि राष्ट्रिय पुरस्कार २०८० बाट संस्कृतिविद् डा. जगमान गुरुङलाई प्रदान गरेको छ । शानिबार हेटौंडामा एक कार्यक्रम समारोहका बीच गुरुङलाई नगद सहित उक्त पुरस्कार समर्पण गरिएको हो ।
गुरुङले त्रिभूवन विश्वविद्यालयबाट नेपाली इतिहास, संस्कृति र पुरातत्व विषयमा विस २०३९ मा प्रथम श्रेणीमा स्नातकोत्तर उर्तिण गरेका छन् । उनले सन् २००९मा भारतको कोलकत्तामा रहेको विश्व ज्योतिष विद्यापिठबाट चिनियाँ तिब्बती ज्योतिषशास्त्रमा विद्यावारिधि गरेका छन् । उनले नेपाली इतिहास र संस्कृति विषयक ७ वटा पुस्तक प्रकाशन गरेका छन् भने हजारौं उक्त विषयमा लेखहरु लेखेका र प्रकाशन भएका छन् ।
गुरुङलाई बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले सम्मानपत्र प्रदान गरेकी थिइन् । मन्त्री मोक्तानको प्रमुख आतिथ्यता तथा समाजका अध्यक्ष माधव पोख्रेलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
समाजको २५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा मातृभूमि लघुकथारत्न सम्मान २०८० बाट लघुकथाकार डा. विदुर चालिसेलाई प्रदान गरिएको थियो । लघुकथाकार चालिसेले पनि त्रिविविबाट भाषा विज्ञानमा विद्यावारिधि गरेका छन् । उनका रातो चामल, जलान लघुकथा संग्रह र लघुकथा लय र लघुकथा कल्प चिन्तन र मनन कृतिहरु प्रकाशित छन् । उनले अंग्रेजी भाषाका कृतिहरु अनुवादित समेत गरेका छन् । कवितामा नि दख्खल रहेका चालिसेका युग बोल्छ, सिसिफसको श्रपित मांसपिण्ड, सेन्गल, कोशिका उडान, स्मृतिका पहाड, चियाङमाइको डवली कविता संग्रह प्रकाशित छन् ।
सोही अवसर मकवानपुरे महाकाव्यकार मुना अर्यालको महाकाव्य महाकाश विमोचन गरिएको छ । उनीद्धारा लेखिएको पुस्तक मातृभूमि साहित्य समाजले प्रकाशन गरेको हो । मन्त्री मोक्तान, संस्कृतिविद् डा. जगमान गुरुङ, डा. विदुर चालिसे, समाजका प्रमुख संरक्षक मुक्तिगोविन्द वैद्य, संरक्षक ह्यग्रीव आचार्य, सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिललगायतले उक्त पुस्तक विमोचन गरेका थिए ।
सोही अवसरमा समाजले समाजका प्रमुख संरक्षक मुक्तिगोविन्द वैद्य, संरक्षक ह्यग्रीव आचार्य, सल्लाहकार देवराज खरेललाई सम्मान गरेको थियो । कार्यक्रममा विभिन्न सर्जकहरुले आफ्ना साहित्य रचना प्रस्तुत गरेका थिए ।