हेटौंडा \ नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ मकवानपुरको आयोजनामा शनिबार राती सम्पन्न तेस्रो मिस्टर मकवानपुरको उपाधि सरुन परियारले हात पारेका छन् । ७० केजी समूहका विजेता रहेका परियार तेस्रो मिस्टर मकवानपुरको विजेता बन्न सफल भएका छन् । उनी विजेता भए सँगै एक लाख नगद मेडल र ट्रफि प्राप्त गरेका छन् । उनलाई हेटौंडा उपमहानगरका नगर प्रमुख मीना कुमारी लामाले पुरस्कारहरु प्रदान गरेकी थिइन् ।
प्रतियोगिताका फस्ट रनअप राज शाही घोषित भए । उनी ७५ केजी तौल समूहका विजेता थिए । उनले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गरेका छन् । त्यस्तै प्रतियोगिताका सकेण्ड रनरअप शैलेन्द्र कुमार साह भएका छन् । उनी ६० केजी तौल समूहका विजेता थिए । उनले नगद ३० हजार, मेडल र ट्रफि प्राप्त गरेका छन् । मिस्टर मकवानपुर विधामा ५५,६०,६५,७०,७५ केजी तौल समूहमा प्रतिस्पर्धा भएको थियो । ५५ केजी समूहमा युवराज छत्कुली विजेता बनेका थिए भने ६० केजी तौल समूहमा शैलेन्द्र कुमार साह, ६५ केजी समूहमा इन्द्र कुमार अधिकारी, ७० केजी समूहमा सरुन परियार र ७५ केजी तौल समूहमा राज शाही विजेता बनेका थिए । उनीहरुले जनही १० हजार नगद सहित ट्रफि प्राप्त गरेका थिए । समूह विजेताहरुले फाइनलमा आफ्नो प्रस्तुती दिएका थिए ।
त्यस्तै महिला खेलाडीहरुलाई शारिरिक सुगठन तर्फ आर्कषण गराउन वेष्ट फिजिक्स वुमन च्याम्पियनसीप विधा समेत गराइएको थियो । मकवानपुरमा पहिलो पटक गरिएको उक्त प्रतियोगितामा ४ जना महिला खेलाडीले सहभागिता जनाएका थिए । जसमा अरिमा थिङ विजेता बनेकी थिइन् । उनले २० हजार नगद मेडल प्राप्त गरेकी छिन् । त्यस्तै द्धितीय स्थान शान्ता माया स्याङ्तान, तृतीय स्थान जुनी पुलामी मगर र चौथो स्थानमा कल्पना कुमारी दर्लामीमगर भएकी थिइन् ।
प्रतियोगतामा पहिलो पटक मिस्टर मकवानपुर भेट्रान्स समेत गरिएको थियो । उक्त प्रतियोगितामा ८ जना भेट्रान्स खेलाडीले सहभागिता जनाएका थिए । जसमा विजेता विमल लामा, द्धितीय बुद्ध लामा र तृतीय स्थान भुवन बहादुर तामाङ र चौथो स्थानमा विकास बानियाँ भएका थिए ।
प्रतियोगितामा खेलाडी बढी प्रस्तुत गर्ने उत्कृष्ठ तथा अनुशासित क्लव भनेर वेस्ट क्लब कलिउड सुपर डान्स एण्ड फिटनेस प्रा.लिलाई घोषणा गर्दै २५ हजार नगद सहित सम्मान गरिएको थियो ।
साथै पुराना खेलाडीहरु शान्तिकी खड्की, सुर्य लामा, राजकुमार श्रेष्ठ, महेश महर्जनलाई सम्मान गरिएको थियो । खेल क्षेत्रतर्फ भलिबल खेलाडी प्रहरी निरीक्षक चुडाकुमारी खड्का, खेलकुद शिक्षा क्षेत्र तर्फ शिक्षाविद् पुरन बहादुर जोशी, पत्रकारिता क्षेत्रतर्फ सिधाखबर डटकमका सम्पादक श्रीराम अर्जुन, सुवास विडारी र प्रतिक्षा न्यौपानेलाई सम्मान गरिएको थियो ।
कार्यक्रम महासंघका अध्यक्ष राजेश भेटलवालको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरका नगर प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो ।