हेटौंडा \ बागमती प्रदेश सरकारका उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले समृद्धिको यात्रालाई ठिक ढङ्गबाट अगाडी बढाउन सके उद्योग क्षेत्रमा प्रोत्साहन मिल्ने बताउनुभएको छ । आइतबार हेटौंडामा आयोजित उद्योग संघ मकवानपुरले आयोजना गरेको एम स्टार्ट अप विजनेश इन्क्युवेसन सेन्टर तथा एम नव उद्यमशाला बुट क्याम्पको उद्घाटन गर्दै मन्त्री चित्रकारले बागमती प्रदेश सरकार नवउद्यमीहरुलाई प्रोत्साहन गर्ने निति ल्याउने तयारीम रहेको बताउनु भयो ।
भर्खरै स्थापना भएको प्रदेश सरकार उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले विभिन्न ऐन तथा नितिहरु बनाउने तयारी रहेको बताउँदै उहाँले हस्तकला, बजार अनुगमन, व्यवस्थित निर्देशिका,कार्यविधिहरु आगामी मन्त्रीपरिषद्को बैठकबाट निर्णय गर्ने तयारीमा रहेको बताउनु भयो ।
उहाँले रोजगारी सिर्जना नगर्दा अर्थतन्त्र उभो लाग्न नसकेको बताउँदै उद्योगीहरुलाई कसरी स्थापना गर्न सकिन्छ भन्ने बाटोमा प्रदेश सरकारको चासो चिन्ता रहेको बताउनु भयो । दिनप्रतिदिन खस्किएको उद्योग व्यवसायलाई प्राथमिकतामा राख्न नसके उद्योगहरु धरासाही हुने र व्यवसायी पलायन हुने अवस्था आउन सक्ने भन्दै उहाँले प्रदेश सरकारबाट पनि स्पष्ट नीति दिन नसक्दा व्यवसायीको लगानी सुरक्षित नभएको प्रष्ट पार्नुभयो ।
कोरोना काललाई दोष दिएर भन्दा पनि अब मानव संसाधनलाई सही ढङ्गबाट प्रयोग गर्न सकिए युवाहरु विदेश पलायन हुने बाध्यता हट्ने बताउदै उहाँले प्रदेश सरकार उद्योगीहरुलाई काम गरेर खान सक्ने अवस्था सिर्जना गर्न प्रतिवद्धता रहेको बताउनुभयो । मन्त्री चित्रकारले नवउद्यमीहरुलाई प्रोत्साहन गर्न मन्त्रालय तयार रहेको बताउँदै पहिलो लक्ष्य रोजगारी सिर्जना गर्नु र यसका लागि प्रदेश सरकार एजेन्सीको रुपमा रहन समेत तयार रहेको बताउँनु भयो ।
पाँच दिन सम्म सञ्चालन हुने कार्यशालामा २० जना नवउद्यम हरुको सहभागिता रहेको उद्योग संघका अध्यक्ष स्वागतराज प्याकुरेलले बताउनुभयो । मकवानपुर जिल्लाभरिबाट प्राप्त आवेदनबाट पहिलो चरणको कार्यक्रमले २० जना उत्कृष्ट उद्यमीलाई समेट्ने लक्ष्य लिएको उहाँले बताउनु भयो । कार्यशालामा नवीनतम् सोचमा आधारित उद्यमहरु, साना तथा मझौला उद्यमहरु, घरेलु उद्यमीहरुको सहभागिता रहेको अध्यक्ष प्याकुरेलले बताउनुभयो ।
कार्यक्रममा हेटौंडा उपमहानगरका नगर प्रमुख मीना कुमारी लामा, उद्योग संघका पुर्व अध्यक्ष लेखनाथ पोखरेल, बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई लगायतले उद्यमशीलता मेलाबाट दक्ष उद्यमी उत्पादनमा सहयोग पुग्ने बताएका छन् ।