हेटौंडा \ मकवानपुरको पुरानो सरकारी अस्पताल हेटौंडा अस्पतालाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत रहेको विषयमा बागमती प्रदेश सरकारका मन्त्री र प्रदेश सभा सदस्यहरुलाई पत्र बुझाइएको छ । आइतबार बस्ने प्रदेश सभामा सहभागिता जनाउन आएका मन्त्री र सभा सदस्यलाई प्रदेश सभा परिसरमै उक्त पत्र बुझाइएको नेपाली कांग्रेस मकवानपुरका सचिव भीमसेन महतले बताए ।
संयुक्त अभियान मकवानपुरले प्रतिष्ठानको आफ्नै अस्पताल नबनुन्जेलसम्म हेटौंडा अस्पताललाई शिक्षण अस्पतालको रुपमा प्रयोग गर्ने व्यवस्था गर्दै हालको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्था गर्न बनेको ऐनलाई विस्थापित गरेर दुबैको फरक फरक लक्ष्य उद्देश्य पुरा गर्न प्रतिष्ठानको छुट्टै ल्याई अगाडी बढ्न माग गरेका छन् ।
पत्रमा महत सहित नेकपा माओवादी केन्द्र मकवानपुरका सचिव भीम पाख्रीन, नेकपा एस मकवानपुरका सचिव ध्रव भुजेलले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । टोलीले प्रदेश सरकारका पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जन लगायत प्रदेश सभाका सदस्यहरुलाई पत्र हस्तान्तरण गरिएको थियो ।
यस्तो छ पत्रमा अस्पतालबारे ।
बागमती प्रदेश सरकारको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान एउटा गौरवको योजना हो । यो प्रतिष्ठान बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौँडामा स्थापना गर्नु भएकोमा सम्पुर्ण मकवानपुर बासीको तर्फबाट सम्मान तथा धन्यवाद दिन चाहान्छौं । यो प्रतिष्ठानले पूर्णता प्राप्त गर्दा सिङ्गो मकवानपुर बासी सहित केही जिल्लाले समेत यथोचित स्वास्थ्य सेवा प्राप्त गर्ने सहित देशले नै भोगीरहेको स्वास्थ्य विज्ञको अभावलाई समेत परिपूर्ती गर्नेछ, यसर्थ हामी धेरै खुसी छौं । यस प्रतिष्ठानले हाल टाढा–टाढा दुरीमा साना–साना टुक्रा जग्गा प्राप्त गरेर धेरै ठाउँहरुमा भौतिक संरचना निर्माण गर्ने तर्फ अगाडी बढेको देखिन्छ । यसो गर्दा आउने दिनहरुमा प्रतिष्ठान सञ्चालनमा ञसमस्याहरु आउन सक्छन्, त्यसैले हेटौँडा उप–महानगरपालिकाले सैद्धान्तिक स्वीकृती दिइसकेको हे.उ.म.न.पा–१९ लेवट नजिकको नदि उकाश क्षेत्रमा आवश्यकता अनुसार १०० वा १२५ विगाहा जमिन लिएर सबै संरचना एकै ठाउँमा निर्माण गर्दा उपयुक्त हुने कुरा हामीलाई लागेको छ । यसको संगै बागमती प्रदेश सरकार तथा सम्पुर्ण माननिय सांसद ज्यूहरुलाई प्रतिष्ठानलाई आवश्यकता अनुरुपको बजेट छुट्याई छिटो भन्दा छिटो पूर्णता दिनको लागि पनि ध्यानाकृष्ट गराउन चाहान्छौ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापनाको क्रममा हेटौँडा अस्पताललाई आफ्नो अस्पतालको रुपमा प्रस्तुत गर्नु तत्कालिन आबश्यकता थियो होला तर सधैका लागि प्रतिष्ठानको बनाउदा राष्ट्रिय स्वास्थ्य नीति २०७६ को सम्पुर्ण जनतालाई आधारभूत प्राथमिक सेवा शुलभ रुपमा उपलब्ध गराई जनताको स्वास्थ्य स्तर उकास्ने लक्ष्यलाई पुरा गर्न सक्ला ? त्यस्तै नेपालको संविधान २०७२ ले स्वास्थ्य सेवा प्राप्त गर्नु जनताको मौलिक हकको रुपमा अंगिकार गरेको विषय लागु गर्न सकिएला ?
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन दफा ४ को उपदफा ३ ले प्रतिष्ठानले व्यक्ति सरह चल अचल सम्पत्ती प्राप्त गर्ने, उपभोग गर्ने, बेचविखन गर्न वा अन्य कुनै किसिमले व्यवस्था गर्न सक्नेछ भनी उल्लेख छ । उक्त ऐनको दफा ४७ को उपदफा ३ ले प्रतिष्ठान स्थापना तथा सञ्चालनका लागि मकवानपुरको हेटौंडा अस्पतालमा उपलब्ध एवम् उपयोग गरिएको सम्पुर्ण चल अचल सम्पत्ती, लेनदेन कारोबार लगायत सम्पुर्ण अधिकार तथा दायीत्व प्रतिष्ठानमा सरेको मानिनेछ । नेपाल सरकारको सम्पत्ती यसरी हक हस्तान्तरण होला वा यो गर्न उपयुक्त हुन्छ ?
यसै ऐनको दफा ३६ को उपदफा १ ले हेटौंडा अस्पतालमा कार्यरत सम्पुर्ण कर्मचारीले प्रतिष्ठानको स्थापनाको तिन महिना भित्र निवेदन दिनुपर्नेछ र यसैको उपदफा २ ले निवेदन दिने कर्मचारीलाई समान स्तर र तहमा कायम गरिनेछ भनी उल्लेख छ, आज सम्म यो किन लागु हुन सकेन ?
हेटौंडा अस्पतालको इतिहास वि.स. २०१८ सालमा जन्म भएपछि सुरु हुन्छ । हेटौँडा अस्पतालले विभिन्न आरोह, अवरोह झेल्दै आज यहाँ सम्म आई पुगेको छ । यस अस्पतालले राष्ट्रिय स्वास्थ्य नीति २०७६ र नेपालको संविधान २०७२ को मर्मलाई प्रतिनिधित्व गर्दछ । मकवानपुर जिल्लाको एक मात्र सरकारी अस्पतालबाट ९०/९२ वटा निशुल्क औषधि नेपाल सरकारले अनिवार्य स्वास्थ्य सेवा मानेकोलाई प्रवाह, वेवारिसे बिरामीलाई निःशुल्क उपचार, विपन्न परिवारलाई उपचारमा छुट, देशमा कुनै पनि महामारी फैलिदा अनिवार्य नैतिक दायित्व मानी पूर्ण क्षमतामा उपचारमा संलग्न र न्यूनतम उपचार शुल्क हुने गर्दछ । यी सबै विषयलाई मध्येनजर गर्दै यसको सेवा विस्तारको लागि ३०० बेडमा स्तर उन्नती गर्न पनि हार्दिक आग्रह गर्दछौ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्दानको प्रमुख लक्ष्य भनेको आध्यापन हो, एमविविएस Post Uradute, एम.डी विषय पढाउने हो, यी विषयहरु अध्यापन गराउने क्रममा हुने सहायक विषयहरु नर्सिङ, फार्मेसी, एमएलटी लगायत पढाउने हो, स्वास्थ्य क्षेत्रमा कमि रहेको दक्ष जनशक्ति उत्पादन गर्ने हो । यी नै विषयका विद्याथीलाई Practical गराउनु पर्ने भएकोले अस्पताल आवश्यक परेको हो ।
त्यसैले यसको प्रस्तावना मै विज्ञान क्षेत्रमा अध्ययन अनुसन्धान र अध्यापनको विषय उल्लेख छ । यो पूर्ण रुपमा सञ्चालनमा आउँदा सम्म आफ्नै ५०० वेडको अस्पताल आवश्यक पर्दछ । यहाँ सम्म आइपुग्दा स्वास्थ्य क्षेत्रका सबै विधामा सेवा उपलब्ध हुन्छन् । यसको व्यवस्थापनको लागि उच्च दक्ष प्राविधिक (डाक्टर) हरुको आवश्यक पर्ने र सोही अनुसारको सेवा शुल्कं मंहगो हुने यसको बाध्यता बन्दछ ।
अन्त्यमा, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आफ्नै अस्पताल नबनुन्जेलसम्म हेटौंडा अस्पताललाई शिक्षण अस्पतालको रुपमा प्रयोग गर्ने व्यवस्था गर्दै हालको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्था गर्न बनेको ऐनलाई विस्थापित गरेर दुवैको फरक फरक लक्ष्य उद्देश्य पुरा गर्न प्रतिष्ठानको छुट्टै ऐन ल्याई अगाडी बढ्न जोडदार माग गर्दछौ ।