हेटौंडा \ नागस्वती भेट्रान्स क्लबको आयोजनामा आज देखी हेटौडा ७ नागस्वतीमा सुरु भएको दोस्रो नागस्वती भेट्रान्स रनिङ शिल्ड फुटबल प्रतियोगितामा मंगलबार चितवन भेट्रान्स, जोरपाटी भेट्रान्स र अभिषेक चर्च नवलपरासीले विजयी सुरुवात गरेकाछन् ।
प्रतियोगितामा आजको पहिलो खेल चितवन र नवजागृति भेट्रान्स सिमरा बीच भएको थियो । खेलमा ३ १ अन्तरमा चितवन भेट्रान्स विजयी हुन सफल भएको थियो । यस्तै आजको दोश्रो खेलमा अभिषेक चर्च नवलपरासीले वीरगञ्ज भेट्रान्सलाई ट्राईब्रेकरमा हराउदै विजयी हुन सफल भएको थियो ।
खेलको पहिलो हापको २१ औं मिनेटमा चितवनका खेलाडी भुपेन्द्र कार्कीले पहिलो र दोस्रो हापको २८ औं मिनेटमा अर्को गोल गर्न सफल भएका थिए भने खेलको ४० औं मिनेटमा रवीन्द्र श्रेष्ठले गोल थप्दै अग्रता दिलाएका थिए । सिमराको तर्फबाट एक मात्र सान्त्वना गोल खेलको ३० औं मिनेटमा मेघनाथ अधिकारीले १ गोल गरेका थिए । खेलको म्यानअफ द म्याच चितवनका खेलाडी भुपेन्द्र कार्की घोषित भएका थिए ।
मंगलबारको पहिलो खेल सानो गौचरण भेट्रान्स काठमाडौं र जोरपाटी भेट्रान्स काठमाडौं बीच हुने भनिए पनि खेलमा सानो गौचरणले कारणबस सहभागिता जनाउन नसकेपछि जोरपाटीले स्वतः बाई पाएको थियो । त्यस्तै गरि वीरगञ्ज सिटी भेट्रान्स वीरगञ्ज र अभिषेक चर्च भेट्रान्स नवलपरासी बीचको खेलमा निर्धारित समयमा कुनै समुहबाट गोल हुन नसकेपछि ट्राईब्रेकरमा अभिषेक चर्च विजयी भएको थियो ।
ट्राइबेकरको प्रतिस्पर्धामा अभिषेकले चर्चले ३–२ गोल अन्तरले जीत हासिल गरेको हो । खेलमा अभिषेक चर्चका खेलाडी शंकर गोपाल खड्की म्यान अफ द म्याच घोषित भएका थिए । प्रतियोगितामा आयोजक क्लब सहित देशभरका १६ वटा भेट्रान्स क्लबहरुले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा विजेताले २ लाख १ हजार र उपविजेतालाई एक लाख १ हजार नगद सहित शिल्ड पुरस्कार रहेको क्लबका अध्यक्ष सोम बहादुर तितुङले बताएका छन् । स्वास्थ्यका लागि खेल भन्ने नाराका साथ आयोजना गर्न लागेको प्रतियोगिताले पूर्व खेलाडीहरुको मनोवल उच्च राख्न सहयोग पुग्ने उनले बताए । फाइनल खेल असोज २० गते शनिबार दिउँसो ३ बजे हुनेछ । वर्षातको कारण खेलको उद्घाटन बुधबार बिहानको लागी सारिएको अध्यक्ष तितुङले बताए ।