हेटौंडा \ मानसिक स्वास्थ्य दिवसको अवसरमा मानवसेवा आश्रम मुख्य कार्यालय हेटौडालाई रोटरी रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ ले आर्थिक नगद सहयोग गरेको छ । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर राजेन्द्र धोजुको विशेष उपस्थितमा मानवसेवा आश्रमलाई नगद एक लाख एघार हजार १११ प्रदान गरिएको थियो ।
कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का एजी राजभाई सुवालर उनको श्रीमती कमला महर्जन सुवाल, जिल्ला सचिव दिनेश राज महर्जन, देव सुवेदी, हेटौंडा अध्यक्ष स्वागत राज प्याकुरेल,मकवानपुर अध्यक्ष अन्जन पराजुली लगायतको उपस्थिती रहेको थियो ।
आश्रममा हाल २ सय २० जना लक्ष्मीनारायण, बालगोपालहरुले आश्रमका सेवाहरु लिइरहेका छन् । मानवसेवा आश्रम २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको लक्ष्य सहित २०६९ सालदेखी नै देशव्यापीरुपमा सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवन बिताउन विवश अनाथ, अपाङ्ग, अशक्त, असहाय, शारिरीक तथा मानसिकरुपमा अति कमजोर मानवहरुको उद्धार, उपचार, पालनपोषण एवं पारिवारीक पुनर्मिलनको सेवामा समर्पित हुँदै आइरहेको छ ।
हाल देशभर १९ जिल्लामा २४ ओटा सेवा केन्द्र सञ्चालनमा रहेको आश्रमले ७७ जिल्लाबाट सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गर्दै आइरहेको छ ।