कैलाश \ मकवानपुरको विकट मानिने कैलाश गाउँपालिकामा वर्थिङ सेन्टर तथा भिडियो एक्सरे सेवा सुचारु भएको छ । बुधबारबाट गाउँपालिका अध्यक्ष लोक बहादुर मोक्तानको उक्त सेन्टरको उद्घाटन गर्दै गर्भावस्था जाँच कार्य सुरु भएको हो । गाउँपालिकाको वडा नम्बर ७ मा रहेको ङको स्वास्थ्य चौकीमा गर्भवतीसँग पालिका प्रमुख कार्यक्रम अन्तरगत पहिलो कार्यक्रमको सुरुवात गरिएको गाउँपालिका अध्यक्ष लोक बहादुर मोक्तानले बताउनुभयो । नयाँ वर्थिङ सेन्टरबाट बुधबार ४० जना गर्भवती महिलाले आफ्नो गर्भावस्था परिक्षण गर्नुभएको थियो ।
विकट रहेको कैलाश गाउँपालिका त्यसमा पनि चेपाङ र तामाङ समूदायको बाहुल्यता रहेकोले पनि नियमित गर्भवती परिक्षण नगर्ने भएकाले स्वास्थ्य चौकीमै विशेषज्ञका साथ भिडियो एक्सरे सेवा सुरु गरिएको पालिका अध्यक्ष मोक्तानले बताउनुभयो ।
गाउँपालिकाले वार्षिक कार्यक्रमै समेटिएर यो कार्यक्रम गरेका हौं, अध्यक्ष मोक्तानले भन्नुभयो । हामी पालिकाका प्रत्येक गर्भवती महिलाले सुरक्षित आफ्नो गर्भावस्था जाँच सेवा प्रदान गर्नेछौं । हेटौंडा अस्पतालका डा. विदुर भण्डारीसँगको सहकार्यमा महिनाको दुई पटक गाउँपालिकामा उक्त सेवा दिने अध्यक्ष मोक्तानले बताउनुभयो ।
स्त्री रोग विशेषज्ञले पालिकाको स्वास्थ्य चौकीबाटनै सेवा प्रदान गर्नेछन् भने गर्भवती महिलाले सिधै विशेषज्ञसँग सेवा लिने गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्णकुमार यादवले बताउनुभयो । पालिकामा वडा नम्बर २,३,५,८,९ मा यस अघिनै वर्थिङ सेन्टर सञ्चालन भइसकेको संयोजक यादवले बताउनुभयो । भिडियो एक्सरे मेशिन गाउँपालिकासँग एक थान रहेको छ भने डा. भण्डारीसँग रहेको मेशिन गरी २ वटा मेशिनबाट सेवा प्रदान गरिएको थियो ।
उद्घाटनका कार्यक्रम वडा ७ का वडा अध्यक्ष उदास भ्लोनको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरी, डा. विदुर भण्डारी, स्वास्थ्य संयोजक कृष्ण कुमार यादव लगायतको आतिथ्यता रहेको थियो । गाउँमै भिडियो एक्सरे सेवा सहित गर्भावस्था परिक्षण सेवा लिन पाउँदा गाउँबासी खुसी भएका छन् ।