हेटौंडा \ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालमा मानसिक रोगबाट प्रभावित बिरामीहरुलाई उपचार गर्न २५ बेढ सञ्चालनमा आएको छ । बिहिबार बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले मनोचिकित्सा वार्डको उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्दै मन्त्री जोशीले यो अस्पातललाई प्रदेशकै उत्कृष्ट अस्पतालका रुपमा विकास गरिने बताउनु भयो । मानसिक स्वास्थ्यका कारण पनि आत्म हत्या धेरै बढेकाले यसको न्यूनीकरणका लागि उपचार सेवा थप गर्नुपरेको उहाँले बताउनुभयो । प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर विश्वराज जोशीले हेटौंडा अस्पतालमा मानसीक स्वास्थ्यको उपचार थप भएसंगै अब अरु सेवा पनि थप गर्ने योजनाका साथ लागिएको बताउनुभयो ।
अब महंगो खर्चमा हेटौंडाका निजी मेडिकलहरुमा मानसिक रोग लागेका बिरामीहरुको उपचार गर्नुपर्ने समस्या हटेको मदन भण्डारी स्वाथ्य बिज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईले बताउनुभयो । पहिले देखिनै अस्पतालमा ओपीडीमा आएका मानसीक समस्या भएका बिरामीहरुको उपचार गरिदै आएको भएपनि अब भने भर्ना नै गरेर उपचार गर्नका लागि सुरुवात गरिएको उहाँले बताउनुभयो ।
हेटौंडा अस्पतालमा २५ शय्या क्षमताको मनोचिकित्सा वार्ड सञ्चालनमा आएसंगै मकवानपुर र आसपासका क्षेत्रका बिरामीहरुलाई सहज भएको छ । अस्पतालको पुरानो भवनमा महिला र पुरुषलाई छुट्टाछुट्टै राख्न मिल्ने गरी मनोचिकित्सा वार्ड सञ्चालनमा ल्याइको हो । गत असारबाट हेटौंडा अस्पतालमा एक जना मनोरोग विशेषज्ञ नियुक्त भइ ओपीडी मार्फत सेवा प्रवाह गर्दै आएको अवस्थामा हाल सो सेवालाई विस्तार गरी आकस्मिक र बिरामी भर्ना सेवासमेत सञ्चालन सुरु भएको हो ।
वार्ड सञ्चालनका लागि एक जना विशेषज्ञ चिकिकित्सक नियुक्त भइसकेको र थप एक जना विशेषज्ञ चिकित्सकका लागि आवेदन खुला गरिएको छ । वार्ड सञ्चालनका लागि अस्पताल व्यवस्थापन समितिबाट ५ लाख रुपैयाँ खर्च गर्ने योजना अनुसार व्यवस्थापकीय काम भइरहेको प्रसाईले बताउनुभयो ।
आगामी आर्थिक वर्षदेखि हेटौंडा अस्पतालमा ३ जना मनोचिकित्सक नियुक्त गरी मकवानपुरका विभिन्न पालिकामा शिविरका रुपमा मनोचिकित्सा सेवा प्रवाह गर्ने योजना रहेको छ । प्रतिष्ठानको प्राविधिक सहयोगमा हेटौंडामा रहेको मानव सेवा आश्रममा ३० शय्या क्षमताको मानसिक स्वास्थ्य पुनस्र्थापना केन्द्र स्थापनाको तयारी समेत भइरहेको छ ।