मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ र ६ लाई लक्षित गरी लागु पदार्थ र मादक पदार्थको प्रयोग, आत्महत्या, साइवर अपराध, सामाजिक विकृति विसंगतिको विषयमा विहीबार अन्तरक्रिया गरिएको छ ।
उक्त कार्यक्रमका संयोजक लीलाराज बञ्जाराको सभाध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजाल, वडा ५ का अध्यक्ष दीपेश दाहाल, वडा ६ का अध्यक्ष कृष्ण प्रसाद बजगाईको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रहरी उपरीक्षक रिजालले पदार्थ र मादक पदार्थको प्रयोग, आत्महत्या, साइवर अपराध, सामाजिक विकृति विसंगतिको विषयमा कानुनी विषयलाई समेट्दै आफ्ना भनाई राखेका थिए । त्यस्तै, कार्यक्रमलाई गाउँपालिकाका न्यायिक समितिका अधिवक्ता रामशरण लामिछानेले सामाजिक अपराध र विकृतिका विषयमा हुन सक्ने सजाय र त्यस्ता कार्य गर्न नहुने खालका नियमहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले चाडपर्व लक्षित गरी यो कार्यक्रम गरिएको प्रति धन्यवाद दिँदै लागु पदार्थ र मादक पदार्थको प्रयोग गर्नेलाई र विक्री वितरण गर्नेलाई समेत कानुनी दायरामा ल्याइने बताए । उनले साइवर अपराध, सामाजिक विकृति विसंगति हाम्रो समाजमा बढि रहेकाले यसलाई नियन्त्रण गर्न टोल विकास अन्तरगत पालिकाले कामहरु गरिने बताए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय मकवानपुरढीका प्रहरी निरीक्षक सुजन केसी, कार्यपालिका सदस्य नन्दमाया विक, वडा सदस्यहरु, विभिन्न राजनीति दलका अध्यक्ष, विभिन्न टोल विकासका अध्यक्षहरु, सहकारी तथा सामूदायिक वन संस्थाका अध्यक्ष एंव प्रतिनिधि, विद्यालय, स्वास्थ्य चौकी, क्लबका अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।