हेटौंडा \ यसपालीको चाडपर्वमा कोही नरहुन् सडकमा भन्ने नारा सहित मानवसेवा आश्रमले शुभारम्भ गर्न लागको मेची महाकाली उद्धार यात्राको समुद्घाटन प्रधानमन्त्री निवास बालुवाटारमा भोलि शुक्रबार ४ बजे हुने भएको छ । औपचारिक कार्यक्रमबीच यात्रीहरुलाई प्रधानमन्त्री पुष्पकमल प्रचण्डले विदाई गर्ने कार्यक्रम रहेको छ । ३८ दिन हुने उक्त यात्रामा यात्रीहरु मेची देखी महाकालीसम्म पुग्नेछन् । यस यात्राको क्रममा करिब ३ सय जनासम्मको उद्धार गर्ने लक्ष्य यस संस्थाले लिएको छ।
यात्राको सम्पूर्ण खर्च गायिका एवं समाजसेवी आनी छ्योइङ डोल्माले गर्नुहुने भएको छ । कार्यक्रममा गृहमन्त्री नारायण काजी श्रेष्ठ, सामाजिक विकास मन्त्री सुरेन्द्र आचार्य, मानवसेवा आश्रमका सद्भावनादूत एवं वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, हरीवंश आचार्य लगाएत मानवसेवा आश्रमका अभिभावक, शुभेच्छुक, सहयोगीहरुको उपस्थिति रहनेछ । साथै, समाजसेवी गायिका आनी छ्योइङ डोल्मा यात्रीकै रुपमा अभियानभर यात्रा गर्नुहुनेछ ।
सडकपेटी एवं सार्वजनिक स्थलहरुमा अति कष्टपूर्ण जीवन बिताउन विवस सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अनाथ, शारिरीक तथा मानसिकरुपमा कमजोर) मानवमुक्त राष्ट्र नेपाल निर्माण, घोषणा र त्यसको कार्यान्वयनको लक्ष्य तय गरेको मानवसेवा आश्रमले सातै प्रदेशको १९ जिल्लामा २४ सेवाकेन्द्रहरु सञ्चालन गरी ७७ ओटै जिल्लाबाट सहयोगापेक्षीहरुको उद्धार, उपचार, पालनपोषण एवं सम्भव भएकाहरुको पारिवारिक पुनर्मिलन लगायत कार्य गर्दै आइरहेको छ ।
यस यात्राले सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको लागि आधार तय हुने, जनजनमा मानवीय भावनाको विकास हुने तथा जोखिममा रहेका नागरिकको उद्धार र संरक्षणको लागि सरोकारवाला निकायलाई थप जिम्मेवार बनाउन योगदान गर्ने मानवसेवा आश्रमको विश्वास रहेको छ ।