हेटौंडा \ नेपाली चलचित्र परदेशी २ को कथाले हेटौँडाका दर्शकहरुलाई धुरुधुरु रुवाउन सफल भए पछि सिनेमा हलले रुमाल वितरण गर्ने भएको छ । वीरलै नेपाली चलचित्र हेर्ने दर्शकहरुले समेत चलचित्र ‘परदेशी २’ हेरेर आसुँ थाम्न सकेका छैनन् । लामो समय पछि नेपाली चलचित्र हेरेर हल बाहिर आएका हेटौडा ४ का सुजन श्रेष्ठले आसुँ थाम्न सकेनन् । उनलाई ‘परदेशी २’को कथाले सिनेमा हलभित्रै रुवाउन बाध्य बनाएको प्रतिक्रिया दिए । चलचित्रमा आम नेपालीका कारुणिक कथा जलवन्त पस्केको छ । सुजन मात्र होईन अर्का दर्शक कमल उप्रेतीले पनि चलचित्र हेरेर आसुँ थाम्न नसकेको प्रतिक्रिया दिए ।
कमललाई चलचित्रको कथाले निकै भावुक बनाएको बताए । टिपिकल नेपालीपन बोकेको र यसको प्रस्तुतीले दर्शकहरुलाई भावुक बनाई आसुँ झार्न बाध्य बनाएको नारायणी मलमा रहेको सिनेमाहल एनएस सिनेमाहलका सञ्चालक नवराज आचार्यले बताए । उनका अनुसार दर्शकहरुलाई हलले रुमाल वितरण गर्ने योजना बनाएको समेत बताए । जति पनि दर्शकहरु सिनेमाहलमा आएका छन् चलचित्र हेरेपछि भावुक हुँदै मलिनो अनुहार लिएर बाहिरिएका आचार्यले बताए । दर्शकको यति गहकिलो प्रतिक्रिया आएको यो पहिलो नेपाली चलचित्र भएको पनि आचार्यले बताए । सिनेमा हलमा ६५ वर्ष माथिका उमेर समुहका वृद्धवृद्धाहरुलाई निशुल्क चलचित्र हेर्ने व्यवस्था मिलाएको पनि उनले बताए ।
चलचित्रको सुरुवात देखी दर्शकहरुले आसुँ थाम्न सकेका छैनन् । विदेशी भुमिमा गएर पसिना चुहाउने आम नेपालीको दुखदायी पिडा र कथा चलचित्रको मुख्य पाटो हो । लामो समयपछि हलमा आएका श्याम सुन्दर देवकोटाले समेत चलचित्रको वयान गरेका छन । बिशेषगरी हिन्दी चलचित्रको पारखी उनलाई पनि नेपाली चलचित्र पनि यति राम्रो बन्दो रहेछ भन्ने आभाष गराएको बताए । उनले चलचित्रको पाईलैपिच्छे रुहाएको बताए ।
मोटो रकम खर्चेर अध्ययन तथा वैदेशिक रोजगारमा जाने युवापुस्ताले खेप्ने र भोग्ने आम दुखदायी कथा र संर्घषलाई चलचित्र परेदेशी २ ले उतारेको छ । परिवारमा रहेको एक्लो सन्तान ठुलो मोह बोकेर विदेश जाने र यता अभिभावकले सन्तानप्रतिको माया गुमाउनु पर्दाको कथालाई चलचित्रले जीवन्त बनाएको छ । विशेषगरी विदेश गएर भविष्य खोज्ने आम युवापुस्तालाई चलचित्रले स्वेदशमै पसिना बगाउन आव्हान समेत गरेको छ । चलचित्रको मुख्य विषयनै अध्ययनको लागी भनेर ठुलो सपना बुनेर विदेश पलाएन हुने युवापुस्ताको रहेको छ । विशेषगरी अध्ययनको बहाना गरेर पैसा कमाउन भनी विदेश पुगेका युवाहरुले त्यहाँ भोग्नु परेको रोजगारी अभाव देखी कष्ठकर श्रम गर्नुपरेको कथा पर्दामा रहेको छ ।
देशले भोग्नुपरेको पीडालाई निर्देशक नारायण रायमाझीले गत्तिलो ढङ्गबाट उतारेका छन् । गएको शुक्रबार देखी प्रदर्शनमा आएको यो चलचित्रलाई दर्शकको उल्लेखनीय उपस्थितिका साथ हाउसफुल दर्शक पाई रहेको छ । चलचित्र हेर्न दर्शकको चाप दैनिक बढेको एनएस हल सञ्चालक आचार्यले बताए । हलबाट निस्किँदै गरेका अधिकांश दर्शकहरुले चलचित्र एकदमै मन परेको बताएका छन् । अधिकांश दर्शक चलचित्र हेरेर निस्किँदा आशुँ पुछ्दै भावुक देखिएका थिए । उनीहरुले चलचित्रले घरी हसाउँने, घरी रुवाउँने र धेरै दृश्यमा गम्भीर समेत बनाउने गरेको बताएका छन् । चलचित्र हेर्न पुगेकामध्ये कोही एक्लै समेत देखिएका थिए भने कोही साथीभाई र परिवारसहित हल पुगेर चलचित्र हेरेका छन् ।
चलचित्रको व्यापार पनि स्वाभाविक बढी रहेको हल सञ्चालक आचार्यले बताउनु भयो । दर्शकहरूबाट प्राप्त सकारात्मक ‘वर्ड अफ माउथ’का कारण चलचित्रले दर्शक बढाउँदै जाने देखिएको आचार्यले बताउनु भयो । चलचित्रलाई हेटौँडाको ओम्याक्स हलमा पनि दर्शकहरुले उत्तिकै साथ दिईरहेका छन् । हलका म्यानेजर राम महर्जनका अनुसार चलचित्रलाई दर्शकहरुले साथ दिईरहेको बताए । दैनिक रुपमा दर्शकहरु बढीरहेको उनले बताए । उनले एकपटक आम नेपालीहरुले हेर्नुपर्ने चलचित्र बनेको बताए ।
चलचित्रमा प्रकाश सपुत, केकी अधिकारी, वर्षा शिवाकोटीका साथमा प्रशान्त तामाङ, दिलिप रायमाझी, नीर शाह, देवेन्द्र बब्लु, रमा थपलिया, सविन बास्तोला, रोशनी कार्की लगायतको भावुक अभिनय रहेको छ । राजेश वंशल र निर्देशक रायमाझी मिलेर यो चलचित्र बनाएका हुन् । निर्देशक रायमाझीले यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपरहिट चलचित्रहरू दिएका थिए । ‘परदेशी २’ दशैंको अवसर पारेर घटस्थापनाको दुई दिन अघिबाट प्रदर्शनमा आएको हो ।