मनहरी \ जेसीआई चैनपुर प्रस्तावितको जेसीज सप्ताह कार्यक्रम अन्तर्गत भएको २ किलोमिटर खुला दौड प्रतियोगितामा मनहरी ९ रजैयाका प्रताप लामा प्रथम भएका छन् । अन्य १५ प्रतिस्पर्धीलाई उछिन्दै उनी प्रथम भएका हुन् । उनी थ्रीस्टार क्लवबाट फुटबल खेल्दै आएका ए डिभिजन खेलाडी हुन् । प्रतियोगितामा मनहरी ३ लामिटारका रामबहादुर राई द्वितीय हुँदा रजैयाकै दिपेन्द्र न्यौपाने तृतीय भएका छन् ।
प्रथम, द्वितीय र तृतीय भएकाहरुले क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । उनीहरुलाई जेसीज सप्ताहको समापनको क्रममा पुरस्कार प्रदान गरिनेछ । कार्यक्रम संयोजक मनिष पौडेलको संयोजकत्व एवम् चैनपुर जेसीजका अध्यक्ष गणेशदर्पण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका ४ नम्बर वडा अध्यक्ष प्रकाश थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
वडा अध्यक्ष थापाले जेसीज लगायतका संस्थाले सामाजिक विकासमा महत्वपूर्ण सघाउ पु¥याउँदै आएको भन्दै धन्यवाद ज्ञापन गरे । उनले सामाजिक संघसंस्थाहरुसँग समन्वय गरेर अघि बढ्न तयार रहेको बताए । राजनीतिक दलसहित अन्य विभिन्न सामाजिक संस्थाले जेसीजबाट एक व्यक्ति, एक वर्ष, एक कार्यकालको नीति र विधिको शासनलाई आत्मसाथ गर्नुपर्ने उनको धारणा थियो । कार्यक्रममा जेसीजका अध्यक्ष सल्लाहकार विदुर थापा, स्थानीय नवज्योति प्राविका शिक्षक नविनकुमार रेग्मी, जेसीज सप्ताह सहमूल कार्यक्रम संयोजक मिलन ढुंगाना लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा स्थानीय समाजसेवी राजेन्द्र कुँवर, लामिटार मध्यवर्ती सामुदायिक उपभोक्ता समूहका कोषाध्यक्ष जयराम राई, सानाकिसान सहकारीका व्यवस्थापक सुरेन्द्र तितुङ लगायतको आतिथ्यता रहेको थियो ।
त्यस्तै चैनपुर जेसीज प्रस्तावितले मनहरी गाउँपालिका ५ मा रहेको सूर्यकिरण युवा क्लवलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ । जेसीज सप्ताह अन्तर्गत क्लवलाई फुटबल, भलिबल लगायतका खेल सामग्री हस्तान्तरण गरेको हो । कार्यक्रम संयोजक नवराज रिजालको संयोजकत्व एवम् जेसीजका अध्यक्ष गणेशदर्पण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका ५ नम्बर वडा अध्यक्ष दीपेन्द्र अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । वडा अध्यक्ष अधिकारीले आफ्नो वडामा आएर सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहकार्य जारी राख्न अनुरोध गरे ।
उनले खेलकुद सहित वडाको सर्वाङ्गीण विकासमा आफूहरु लागिपरेको बताए । सूर्यकिरण युवा क्लवका अध्यक्ष बीरबहादुर मिजारले जेसीजको सहयोगले खेलकुदको गतिविधिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्यको लागि अनुरोध गरे । कार्यक्रममा ५ नम्बर वडा सचिव विदुर पाठक, २ नम्बर वडा सचिव साजन लामा, सहमूल कार्यक्रम संयोजक मिलन ढुङ्गाना लगायतको आतिथ्यता रहेको थियो । चैनपुर जेसीजले विविध कार्यक्रमको आयोजना गरी जेसीज सप्ताह सञ्चालन गरिरहेको छ । बुधबार जेसीज कप फुटबल प्रतियोगितासँगै जेसीज सप्ताहको समेत समापन हुँदैछ ।