हेटौंडा \ भीमफेदी इपाका रामसिंह घलान ७३ वर्षका भएँ । सरकारले दिने सामाजिक सुरक्षा भत्ता लिन उनी एका विहानै हेटौंडा आइपुगे । गाउँपालिकाले बैंक खातामा नै भत्ता लिने व्यवस्था अनुरुप उनी कान्तिलोकपथको बाटो हुँदै हेटौंडा आइपुगेका हुन् ।
गाउँपालिकामा प्रभु बैंकको शाखा रहेको छ सोही अनुरुप गाउँपालिका भन्दा हेटौंडा बजार नजिक रहेकाले यता आइयो, घलानले भने । भत्ता झिकेर दशै सामान किन्न सहज रहेकाले पनि इपा, कोगटेका अधिकांश हेटौंडा बजारनै आएको घलानले बताए । चाडपर्वमा लाइन हुन्छ भनेर विहानै आएको ८ बजे तिरको भन्दै उनी बैंकको गेट अगाडी चिसो सिडीमा बसेर १० बज्ने समयलाई कुर्दै थिए ।
सेन्चुरी र प्रभु बैंक मर्ज भएपछि हेटौंडा ७,८,९,१९ लगायत भीमफेदी गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता यसै बैंकबाट वितरण हुने बैंकका एक कर्मचारीले बताए । दशैंको मुखमा अन्य नियमित कारोबार त छदैं छ भत्ताको वितरणले पनि बैंकमा विहानै देखी सेवाग्राहीहरुको भीड लाग्ने गरेको उनी बताउँछन् ।
प्रभुमात्र होईन, कृषि विकास, ज्योति विकास, नवील लगायत अन्य बैंकहरुमा सामाजिक सुरक्षा भत्ता लिन बयोवृद्ध नागरिकहरुको भीड लागेको छ । चिसो सिडीमै करिब एकडेढ घण्टा लाइन बसेर सेवा लिन उनीहरुलाई सास्ती भएको प्रष्ट देखिन्छ ।
चिसो मौसम, चाडपर्वको समयमा जेष्ठ नागरिक यसरी सेवा लिदाँ विरामी पर्न सक्ने अवस्था रहने उनीहरुको परिवार सदस्यहरुले बताएका छन् । बैकिङ प्रणालीले भत्ता दिने व्यवस्थाले कतिपयि ग्रामीण भेगका जेष्ठ नागरिकहरुलाई समस्या भएको देखिन्छ ।