हेटौंडा \ हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले राष्ट्रिय भिटामिन ए कार्यक्रममा आफै संलग्न रहेर बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाएकी छन् । हेटौंडा–११ नवलपुरको त्रिभूवन माध्यमिक विद्यालय खोप केन्द्रमा पुगेर नगर प्रमुख लामाले स्थानीय बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाएकी हुन् ।
हेटौंडा उपमहानगरपालिका स्वास्थ्य शाखा मार्फत सञ्चालमा रहेको खोप केन्द्रमा पुगेकी लामाले ६ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाएकी थिइन् । उपमहानगर क्षेत्रका ९२ वटा केन्द्र मार्फत शुक्रबार र शनिबार दुई दिन भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन हुने छ । खोप केन्द्रहरुमा नगरक्षेत्रमा महिला स्वयमसेविका र आमासमुहमा प्रतिनिधि संलग्न भएर कार्यक्रम सञ्चालन गरेको उपमहानर स्वास्थ्य शाखाका सिनियर अहेव केशव तिमल्सिनाले बताए ।
उनका अनुसार उपमहानगरको १९ वडामा रहेका १२ हजार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइने उनले बताए । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार जिल्लामा ४ सय ७१ महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरुले १ सय १० स्वास्थ्य संस्थाको नेतृत्वमा भिटामिन ए र जुकाको औषधी खुवाउनेछ ।
मकवानपुरमा भिटामिन ए खाने ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकाहरु ३५ हजार ५ सयको हाराहारीमा छ भने जुकाको औषधी खाने १ वर्षदेखि ५ वर्ष उमेरका बालबालिकाहरुको संख्या ३० हजार ८ सय ६२ रहेको स्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकारी लक्ष्मण घिमिरेले बताए ।
उनका अनुसार घिमिरेका अनुसार हेटौंडा उपमहानगरपालिकामा ९२, मनहरीमा २१, राक्सिराङमा ३८, कैलाशमा ४२, भीमफेदीमा ५०, बागमतीमा ३२, बकैयामा ६५, मकवानपुरगढीमा ४०, इन्द्रसरोवर गाउँपालिकामा ३७ र थाहा नगरपालिकामा ५४ रजना स्वयमसेविका परिचालन भएका छन् । सरकारले भिटामिन ए खुवाउने निर्धारित समय कात्तिक २ र ३ गते तोकेपनि यस वर्ष दसैंका कारण भिटामिन ए कार्यक्रम कात्तिक १७ र १८ गते सरेको हो ।