हेटौंडा \ आगामी मंसिरको पहिला साताबाट हेटौंडामा पहिलो यू २१ हेटौंडा च्यालेन्ज कप फुटबल प्रतियोगिता हुने भएको छ । एफ.सी मुण्डियाल हेटौंडाको आयोजनामा स्व. सुदर्शन घिमिरे स्मृतिमा उक्त प्रतियोगिता हुन लागेको मंगलबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो ।
'राष्ट्रिय खेलाडी बन्ने होड, उत्पादनमा जोड' भन्ने नाराका साथ सर्वाधिक राशी सहित मकवानपुर जिल्लाका युवा लक्षित खेलाडीको प्रोत्साहन गर्न प्रतियोगिताको आयोजना गरिन लागिएको कार्यक्रम संयोजक सुदीप सिं ठकुरीले बताए । मंसिर ५ गते देखी १३ गते सम्म हुने प्रतियोगितामा जिल्ला बाहिरका ३ टिम र जिल्लाका ११ वटा टिम सहित १४ वटा टिमले प्रतिस्पर्धा गरिने जनाइएको छ ।
विजेताले एक लाख एघार हजार १११ रुपैयाँ प्राप्त गर्ने छन् भने उपविजेताले ५५ हजार सहित शिल्ड र मेडल प्राप्त गरिने जनाइएको छ । विधागत पुरस्कार पाँच हजार प्राप्त गर्नेछन् भने म्यान अफ द म्याचमा प्रत्येकले २ हजार ५ सय प्राप्त गर्ने एफ.सी मुण्डियालका सञ्चालक सुविन घिमिरेले बताए ।
प्रतियोगितामा हिली फिल्डर्स गोरखा एफसी, नव जागृति यूवा क्लब सिमरा, वीरगञ्ज स्पोटर्स पर्सा, न्यू डाँफे युथ क्लब हेटौंडा, एफसी रिगल हेटौंडा रिसोर्ट, पदमपोखरी फुटबल एकेडेमी, निल गगन युवा क्लब हेटौंडा, सहिद स्मृति क्लब बागमती गाउँपालिका, हेटौंडा फुटबल एकेडेमी, थाहा नगरपालिका, रियल स्टार क्लब हेटौंडा, कमाने फुटबल एकेडेमी हेटौंडा, नागस्वती यूथ क्लब हेटौंडा र आयोजक एफसी मुण्डियाल हेटौंडाले सहभागिता जनाउने कार्यक्रम संयोजक ठकुरीले बताए ।
संयोजक ठकुरीको सभाध्यक्षतामा भएको पत्रकार सम्मेलनमा हेटौंडा उपमहानगर ५ का कार्यबहाक वडाध्यक्ष ज्ञान बहादुर थापा, एन्फाका केन्द्रीय सदस्य टिकाराम लामा, प्रदेश खेलकुद परिषद्का सदस्य माधव तिमल्सिना, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्की, पिप्ले युवा क्लबका सल्लाहकार यमबहादुर श्रेष्ठ लगायत खेल क्षेत्रका विभिन्न व्यक्तिहरुको आतिथ्यता रहेको थियो ।