राजकुमार केसी
थाहानगर \ थाहा नगरपालिका वडा नम्बर १२ मा लिती रहेको दुईसय भन्दा बढी घरधुरीमा स्वच्छ खानेपानी पुर्याउन मंगलबार खानेपानी आयोजनाको रिजर्भ ट्यांकीको शिलान्यास गरिएको छ । उक्त खानेपानी आयोजनाको लागि थाहा नगरपालिकाको विकास साझेदारको रुपमा रहेको संस्था च्वाईस नेपालले १ करोड लगानी गर्ने भएको छ । कूल २ करोड ५९ लाख ९० हजार ५ सय ८ रुपियाँ लागत अनुमान गरिएको खानेपानी आयोजनाको लागि १ करोड बराबरको श्रमदान हुनेछ भने थाहा नगरपालिकाले ६० लाख लगानी गर्नेछ ।
थाहा नगरपालिका वडा नम्बर १२ को नागदह, ब्लेटोल, गौराइटोल, नयाँघर टोल, लगायतका गाउँलाई लक्षित गरी खानेपानी आयोजना निर्माण शुरु भएको हो । १८ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको खानेपानी आयोजना सम्पन्न भएपश्चात २ सय भन्दा बढि परिवार लाभान्वित हुने खानेपानी उपभोक्ता समितिका अध्यक्ष हिरामान घलानले बताउनुभयो ।
गुणस्तरीय खानेपानीको अभावमा रहेका उक्त क्षेत्रका बासिन्दाहरुलाई नगरपालिकाको ‘एक घर, एक धारा’ नीति अनुसार खानेपानी आपूर्तिको लागि सहज हुने च्वाईस नेपालका कुल प्रसाद तिवारीले बताउनुभयो । आयोजनाको रिजर्भ ट्यांकीमा करिब २ किलोमिटर टाढाको घट्टेखोला र मेल खोला मुहानबाट पाईपलाईन मार्फत पानी ल्याइ वितरण गरिने च्वाईस नेपालका प्रताप घिमिरेले बताउनुभयो ।
यसअघि एउटै धाराबाट धेरै परिवारले पानी थाप्नुपर्ने बाध्यता रहेको सो क्षेत्रमा आयोजना सम्पन्न भएपश्चात् घरमै खानेपानी आपूर्ति हुने भएकोले उपभोक्ताहरु खुसी भएको थाहा १२ का वडाध्यक्ष टीकाराम स्याङतानले बताउनुभयो । स्याङ्तानले खानेपानी आयोजनाको लागि सहयोग गर्ने च्वाईस नेपाल र थाहा नगरपालिका र श्रमदान गर्ने डोटेराका स्वयंसेवक सहित स्थानीयलाई धन्यवाद समेत दिनुभयो ।
खानेपानी आयोजना सम्पन्न गर्नकोलागि स्थानीय संगै डोटेरा हिलिङह्याण्ड फाउण्डेशमा आवद्ध विदेशी ४१ जना स्वयंसेवकहरुले समेत श्रमदान गरेका थिए । उनीहरु आयोजना क्षेत्रमा केही दिनदेखि स्थानीय जीवनशैली अवलोकनसंगै आयोजना अन्तर्गतको पाइपलाइन खन्नेपुर्ने लगायतका कामहरु गर्दै आएका छन् । स्वयंसेवकहरुमा जापानका ३५ जना, अमेरिकाका ४ जना, स्वीडेन र अष्ट्रेलियाका १\१ जना रहेका छन् ।
आयोजनाको शिलान्यास थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली सहित साँझेदार संस्था च्वाइस नेपालका राष्ट्रिय निर्देशक प्रतीक शर्मा, कार्यक्रम निर्देशक किरण न्यौपानेले संयुक्तरुपमा गरेका हुन् ।