हेटौँडा \ बागमती प्रदेशमा ५५ दशमलव ९ प्रतिशत परिवारलाई कृषिको आम्दानीले खानसमेत नपुग्ने गरेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले जारी गरेको कृषि गणना २०७८ प्रतिवेदन अनुसार बागमती प्रदेशमा ५५ दशमलव ९ प्रतिशतलाई कृषिको आम्दानीले खान समेत नपुग्ने पाइएको हो । बागमती प्रदेशमा कृषि पेसा गर्ने र त्यसको आम्दानीले खान पुग्ने परिवार भने ४४ दशमलव १ प्रतिशतमात्र छन् । नेपालमा भने कृषिमै आश्रित भएर पनि यसको आम्दानीले खान नपुग्ने ५५ प्रतिशत रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक बद्रीकुमार कार्कीले बताउनुभयो ।
बागमतीमा ७२ दशमलव ६ प्रतिशतको आम्दानीको मुख्य स्रोत कृषि रहेको छ । सार्वजनिक गरिएको तथ्याङ्क अनुसार पुराना प्रविधि हराउँदै गएको छ । फलामे हलोको प्रयोग घटेको छ भने ट्याक्टर र पाओरट्रिलर प्रयोग गर्नेको संख्यामा बृद्धि भएको छ । बागमतीमा १४ दशमलव ८ प्रतिशत फलामे हलो, ३० दशमलव ८ प्रतिशत ट्याक्टर र १६ दशमलव ७ प्रतिशत पाओरट्रिलर प्रयोगकर्ता रहेको निर्देशक कार्कीले बताउनुभयो । तीन दशकमा नेपालमा कृषक परिवार संख्या र कृषकले भोगचलन गरेको जग्गामा बृद्धि भएता पनि बाली सघनता भने सरदर २ पटक लगाएको देखिन्छ । बागमती प्रदेशमा १५ लाख ७० हजार भन्दा घरपरिवार संख्या छ र ६ लाख ६८ हजार १७७ कृषक परिवार रहेको निर्देशक कार्कीले बताउनुभयो ।
उहाँले प्रदेशमा २ लाख ८२ हजार २९२ हेक्टर जमिन कृषि चलनमा प्रयोग भएको बताउनुभयो । नेपालमा सरदर १ दशमलव ९१ प्रतिशत बाली सघनता रहेता पनि प्रदेशमा भने २ प्रतिशत अर्थात २ पटक सम्म बाली लगाएको पाइएको निर्देशक कार्कीले भन्नुभयो । उहाँका अनुसार प्रदेशमा बगैँचाको रुपमा आँप ५३२ हेक्टरमा, केरा एक हजार १२० हेक्टरमा, सुन्तला ६८८ हेक्टरमा, कागती ४६० हेक्टरमा, स्याउ ८० हेक्टरमा लगाइएको बताउनुभयो । त्यस्तै, प्रदेशमा गाईगोरुको पालन घट्दो छ । २०६८ को गणना अनुरुप घट्दै गइरहेको देखिन्छ ।
गाईगोरु र राँगाभैसी भन्दा खसीबाख्रा र संगुरबंगुरको संख्या भने धेरै बृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । प्रदेशमा उत्पादन गरेको वस्तु सबैघरायसी उपभोग गर्ने ६६ दशमलव ४ प्रतिशत कृषक छन् भने केही वस्तु बिक्री गर्ने २५ प्रतिशत, केही घरायसी राखी सबै बिक्री गर्ने ७ दशमलव ४ प्रतिशत र सबै वस्तु बिक्री गर्ने शुन्य दशमलव ९ प्रतिशत रहेका छन्, निर्देशक कार्कीले भन्नुभयो । युवाहरु विदेशिने भएका कारण पनि होला नेपालमा पछिल्लो समय कृषकमा महिलाको संख्या बढ्दो रुपमा भएको छ । विगत तीन दशक देखीको नतिजा हेदा अहिले महिला कृषकको संख्यामा बृद्धिभएको निर्देशक कार्कीले बताउनुभयो ।
नेपालमा ३२ दशमलव ४ प्रतिशत महिला कृषकको रुपमा रहेका छन् भने बागमती प्रदेशमा मुख्य कृषकको रुपमा महिला ३७ दशमलव २ प्रतिशत र पुरुष ६५ दशमलव ८ प्रतिशत रहेका छन् । २०५८ को गणनामा महिला ८ दशमलव १ प्रतिशत र पुरुष ९१ दशमलव ९ प्रतिशत कृषक थिए । किसानको मुख्य चिन्ता भने समयमै मल, वीउको उपलब्धता देखिएको छ । कृषिगणनामा सहभागीमध्ये ५७ प्रतिशतले समयमै मल, वीउ उपलब्ध भए उत्पादन बढाउन सक्ने बताएका छन् ।
त्यस्तै ४८ प्रतिशतले सिँचाईको व्यवस्था, २७ प्रतिशतले कृषि कार्यको लागि तालिमको व्यवस्था, २७ प्रतिशतले कृषि प्राविधिक सेवा सहज, २२ प्रतिशतले कृषि औजार एवं आधुनिक साधन, १८ प्रतिशतले उन्नत नश्ल र उन्नत वीउबीजन, १२ प्रतिशतले कृषि उत्पादनको उचित बजार व्यवस्था र ११ प्रतिशत कृषकले शुन्य ब्याजदर वा सस्तोमा ऋण उपलब्ध गराउन सुझाव दिएको प्रतिवेदनमा उल्लेख छ ।