हेटौँडा \ जाजरकोट र रुकुम पश्चिममा आएको भुकम्पबाट जनधनको क्षती पुगेको अवस्थामा हेटौंडाबाट विभिन्न संस्थाहरुको सहयोगमा लगिएको राहत सामाग्री विहीबार रुकुम पश्चिम पुगेको छ ।
हेटौंडा उपमहानगरपालिका, मकवानपुर उद्योग वाणिज्य संघ, नारायणी यातायात व्यवसायी संघ, नारायणी यातायात कम्पनी प्रा.लि, धर्मकाँटा व्यवस्थापन समिति लगायतका संघसंस्थाले गरेको राहत सामाग्री रुकुम पश्चिम पुगेको नारायणी यातायात व्यवसायी संघका महासचिव सरोज खनालले बताए ।
हेटौंडा उपमहानगरपालिकाको संरक्षकत्वमा रहेको धर्मकाँटा व्यवस्थापन समितिको तर्फबाट १० लाख रुपैयाँ बराबरको डवल वेडको ब्ल्याङ्केट ५ सय थान, १८/२४ को त्रिपाल ७५ थान, २० केजीको प्याकेट रहेको चिउरा ५० सय बोरा पठाइएको सदस्य सचिव गंगा कुमारी चौलागाईले बताईन् ।
त्यस्तै, मकवानपुर उद्योग वाणिज्य संघले पनि विभिन्न संघसंस्थाको सहकार्यमा जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितहरुका लागि संघका सल्लाहकार सरोज कुमार खनाल, कार्यसमिति नेत्रप्रसाद खतिवडा मार्फत १८/२४ कै त्रिपाल ७५ थान, डसना एक सय थान, कुर्था सुरुवाल ७० सेट र कुर्था ३० पिस सामाग्री पठाइएको संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालले बताए ।
राहत सामाग्री हेटौंडा उपमहानगरपालिकाका सवारी साधनमा लगिएको थियो । राहत वितरण कार्यक्रममा नारायणी यातायात व्यवसायी कम्पनी प्रा.लिका एमडी माधव अधिकारी, नारायणी पेट्रोलियम विक्रेता संघ हेटौंडाका अध्यक्ष उत्सव इटेनी, निर्माण व्यवसायी संघका उपाध्यक्ष भवनाथ अधिकारी लगायतको सहभागिता रहेको थियो ।