हेटौँडा \ वर्तमान समयमा भएको दुग्धजन्य पदार्थको बिक्रीमा आएको समस्या समाधानको गर्न आग्रह गर्दै बिभिन्न माग सहित बागमती प्रदेश अन्तरगतका जिल्ला दुग्ध सहकारी संघका प्रतिनिधिहरुले बागमती प्रदेश कृषि तथा पशुपंक्षी विकास मन्त्री डा.राजेन्द्रमान श्रेष्ठलाई बिहीबार ज्ञापनपत्र बुझाउनुभएको छ ।
ज्ञापनपत्रमा बागमती प्रदेशका कृषकहरुमा दुग्ध उत्पादन क्षेत्रमा उत्साह बढेसँगै दुग्ध उत्पादनमा उल्लेख्य वृद्धि भई, सिङ्गो देशलाई दुग्धमा आत्मनिर्भर बनाउन सहयोग पुग्नुका साथै किसानहरुमा उत्साह देखिएको र यो उत्साह कायम राखी मुलुकलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन उत्पादित दुग्ध तथा दुग्धजन्य पदार्थ बिक्रीमा राज्यको महत्वपूर्ण भूमिका हुनुपर्ने उल्लेख गरिएको छ ।
तर राज्य कृषकहरुको समस्या समाधान तर्फ केन्द्रीत नभएकोले कृषकहरुमा छाएको निराशा हटाउन बागमती प्रदेश सरकारसमक्ष किसानहरुका तर्फबाट उठाईएका बिभिन्न मागहरु समाधान गर्न ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराईएको जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरका अध्यक्ष हरि प्रसाद कंडेलले बताउनुभयो ।
पत्रमा उपादित दुग्धजन्य पदार्थको बजारिकरण सुनिश्चित गर्नुपर्ने, नियमित भुक्तानीको व्यवस्था मिलाउनुपर्ने, उत्पादनमा आधारित अनुदान विगत भन्दा कम नहुने गरी व्यवस्था गर्नुपर्ने, साथै उल्लेखित दोहोरोपन भन्ने शब्द हटाउनुपर्ने, दुग्ध उत्पादक किसान र सहकारीका आवश्यक्ताका आधारमा अनुदानको व्यवस्था गर्नुपर्ने, दुग्ध उत्पादक सहकारी संघहरु र प्रदेश सरकार एवं सम्बन्धित मन्त्रालयबीच त्रैमासिक रुपमा छलफल, अन्तरक्रिया गरी समस्या पहिचान र समाधान गर्नुपर्ने लगायतका माग उल्लेख गरिएको छ ।
पत्र बुझ्दै मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले कृषकहरुको मागको संबोधन गर्नेतर्फ आफ्नो ध्यान गएको र छिट्टै प्रदेश सरकारको लगानीमा हेटौंडा १० मा निर्माण हँुदै गरेको पाउडर प्लान्ट तयार भएपछि दुग्ध क्षेत्रमा आउने समस्या समाधान हुने बताउनुभयो । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि प्रसाद कंडेलको नेतृत्वमा गएको टोलीमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगाले, सिन्धुली जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नवराज गजुरेल लगायतको उपस्थिति रहेको थियो ।