हेटौँडा \ बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा सामान्य प्रशासन मन्त्री रामकृष्ण चित्रकारले नीति नियम बनाएर उद्योग र उद्योगीलाई अघि सारिने बताउनुभएको छ । हेटौँडामा उद्योग दिवसको आयोजनामा भएको उद्योग व्यवसाय सञ्चालन नीतिगत जटिलता र समस्याहरु विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री चित्रकारले यसो भन्नुभएको हो ।
उहाँ उद्योग र उद्योगीमा विभिन्न समस्या र जटिलता आएको अवस्थामा अब प्रदेश सरकारले ती समस्या समाधानका लागि आवश्यक नीति नियम कानुन निर्माण गरी सहजता बनाउने बताउनुभयो । हामी छिट्टै नै विद्येयक अधिवेसनमा जादैँछौ त्यस बखत साना तथा ठुला उद्योगलाई लक्षितगरी आवश्यक कानुन र नीति निर्माण गर्नेछौँ, मन्त्री चित्रकारले भन्नुभयो । उद्योग सञ्चालनले रोजगारको सिर्जना गरिनुका साथै देशको अर्थतन्त्र बलियो हुने उहाँले बताउनुभयो ।
प्रदेश सरकार औद्योगिककरण र गरिबी निवारण तर्फ ध्यान दिएको बताउँदै उद्योगको क्षेत्र विस्तार र बन्द भएका उद्योग सञ्चालनमा सरकारको ध्यान गएको बताउनुभयो । लक्ष्यप्राप्तिका लागि उद्योगीहरु एकजुट हुनुपर्नेमा जोड दिँदै घरेलु उद्यामीलाई प्रदेश सरकारले प्राथमिकतामा राख्दै क्षेत्र विस्तारमा सरकार साथमा रहने प्रतिवद्दता समेत व्यक्त गर्नुभयो ।
उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौँडाका निर्देशक गोविन्द सिग्देलको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा उद्योग परिसंघ बागमती प्रदेशका उपाध्यक्ष स्वागतराज प्याकुरेलले उद्योग र उद्योगसँग सम्बन्धित विषयवस्तुमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर घलान, मन्त्रालयका सचिवहरु, उद्योग र वाणिज्यसँग सम्बन्ध प्रदेश तथा जिल्ला स्तरीय संघहरुका अध्यक्ष तथा उद्योगीहरुको सहभागिता रहेको थियो ।