थाहानगर \ थाहा नगरपालिकामा क्रियाशील पालुङ जेसीजले नियमित कार्यक्रम अन्तरगतको जेसीज सप्ताह विविध कार्यक्रम सहित मनाउने भएको छ । मंसिर १५ देखि १७ गतेसम्म विभिन्न सातवटा कार्यक्रम गरी जेसीज सप्ताह मनाउन लागिएको पालुङ जेसीज वर्ष २०२३ का कार्यकारिणी उपाध्यक्ष एवम् सप्ताह मूल कार्यक्रम संयोजक अञ्जय प्रधानले बताए ।
बिहीबार बसेको सातौं बोर्ड बैठकले बिभिन्न ७ वटा कार्यक्रमको गरी जेसीस सप्ताह मनाउन लागेको हो । कार्यक्रमका लागि कार्यक्रम मिति, स्थान सहित कार्यक्रम संयोजकहरु चयन गरिएको प्रधानले बताए ।
जेसीज सप्ताह अन्तरगत मंसिर १५ गते तीन कार्यक्रम हुनेछन् । जसमा बिहान ७ बजे जेसीज हलमा जेसीज सप्ताह कार्यक्रमको उद्घाटन कार्यक्रम अजित कार्कीको संयोजकत्वमा हुनेछ । बिहान १० बजे सेतीगणेश निमावि थाहा ३ मा हरचिन्द्र कार्कीको संयोजकत्वमा भरत–रत्न छात्रवृत्ति वितरण कार्यक्रम हुनेछ । बिहान ११ बजे रचना बस्नेतको संयोजकत्वमा थाहा ४ किटेनीमा रहेको किराँतेश्वर जेष्ठ नागरिक मिलन केन्द्रमा निशुल्क आँखा शिविर हुने प्रधानले बताए ।
साथै मंसिर १६ गते बिहान ७ बजे सुविन्द्रमान प्रधानको संयोजकत्वमा जेसीज मैत्रीपूर्ण व्याडमिन्टन प्रतियोगिता व्याडमिन्टन कभर्डहल थाहा ४ मा हुनेछ भने दिउँसो ४ बजे जेसीज सभाहल परिसरमा नारायण तामाङको संयोजकत्वमा जेसीज बगैचा निर्माण कार्यक्रम हुने जनाइएको छ ।
सप्ताह कार्यक्रमको अन्तिम दिन मंसिर १७ गते बिहान ७ बजे जनकल्याण मावि थाहा ३ मा ‘जीवन परिवर्तन’ विषयक सेमिनार विराज थापाको संयोजकत्वमा हुनेछ भने दिउँसो १ बजे ‘डाडाघरे बा’ को होमस्टे थाहा २ मा समापन तथा पुरस्कार वितरण कार्यक्रम मान सिं दोङको संयोजकत्वमा हुने जनाइएको छ ।
सामाजिक उत्तरदायित्व सहितको कार्यमा युवाहरुको क्षमता विकासका लागि पालुङ जेसीजले विविध रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्दै आएको पालुङ जेसीज वर्ष २०२३ का अध्यक्ष संगम कार्कीले बताए । पालुङ जेसीजको जेसीज सप्ताह अन्तरगत हुने सबै कार्यक्रममा सहभागिताको लागि सम्पूर्ण सरोकारवालालाई आग्रह गरिएको अध्यक्ष कार्कीले बताए ।