हेटौँडा \ बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले आफु बहालभएपछिका सय दिनको उपलब्धी तथा सम्पादित कार्यहरु सार्वजनिक गर्नुभएको छ । बुधबार मन्त्रालय परिसरमा पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्री चित्रकारले सम्पादित कार्यहरु र आगामी दिनहरुमा कार्यान्वयन गरिने महत्वपूर्ण योजनाहरु सार्वजनिक गर्नु भएको हो ।
मन्त्रालयका सचिव गोविन्द रिजालले सय दिनका प्रगति विवरण भन्नुहुँदै नीतिगत एंव कानुनी व्यवस्थाहरुका सम्बन्धमा भएका प्रगतिहरुमा उपभोक्ता हित संरक्षण र बजार अनुगमन गर्न प्रदेश स्तरीय संयुक्त व्यवस्थापन अनुगमन निर्देशिका, २०८० स्वीकृतिको अन्तिम चरणमा रहेको बताउनुभयो ।
मेला महोत्सव गर्न मेला, महोत्सव, प्रदर्शनी सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८०, मन्त्रिपरिषद्बाट स्वीकृत गरिएको छ । त्यस्तै, नीति तथा कार्यक्रममा उद्योग व्यवसाय र व्यापार सम्बन्धी अनलाईन सफ्टवयर प्रयोग गरि सेवा प्रदान, चाडपर्व लक्षित अनुगमन र आवश्यक कारवाही गरिएको र म्याद नाघेका सामाग्रीहरु नष्ट गरिएको सचिव रिजालले बताउनुभयो ।
मन्त्रालयले आगामी दिनमा प्रदेश औद्योगिक नीति, वाणिज्य नीति, खानी अन्वेषण र व्यवस्थान सम्बन्धी नीति, मानव संशाधन विकास नीति, भूमि व्यवस्थापन नीति, गुठी व्यवस्थापन तथा संरक्षण लगायतका नीतिहरु तर्जुमा गरिनेछ । त्यस्तै, प्रदेश लगानी बोर्ड स्थापना, भूमि बैंक स्थापना लगायतका कार्यहरु अगाडी बढाउन कानून निर्माण गरिनुका साथै मन्त्रालयगत ऐनहरु कार्यान्वयन गर्न आवश्यक नियमावली, निर्देशिका र कार्यविधिहरु यथाशिघ्र तर्जुमा गरिने सचिव रिजालले बताउनुभयो ।
मन्त्रालयले प्रदेश निजामती सेवा ऐन, २०७९ को दफा ७ को उपदफा (१) बमोजिम गर्नुपर्ने संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी मन्त्रालय र मातहतका संगठनहरुको संठठनात्मक स्वरुप र दरबन्दी तेरिज मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पेश गरिएको सचिव रिजालले बताउनुभयो ।