हेटौंडा \ सामुदायिक सेवा केन्द्र मकवानपुर र सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा पशुपतिनगरले शुक्रबार समुदाय प्रहरी साझेदारी कार्यक्रमको प्रभावकारीता सम्बन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । केन्द्रका अध्यक्ष तथा सामुदाय प्रहरी साझेदारीका जिल्ला सदस्य राम विष्टष्टको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा समुदाय प्रहरी साझेदारीका जिल्ला सह–संयोजक प्रहरी उपरीक्षक सीताराम रिजालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमको अवसर पारेर प्रहरी प्रमुख रिजाललाई स्वागत तथा सम्मान समेत गरिएको छ । उक्त अवसरमा प्रमुख रिजालले समाज परिवर्तनमा प्रहरी एक्लैको प्रयासले सम्भव नहुने बताए । उनले प्रहरीको कामलाई नागरिकको सकरात्मक सहयोग भए परिणाम समाजमा शान्ति स्थापना, सुशासन र अमनचयन कायम गर्न परिणाममुखी काम गर्न सकिने दावी गरे ।
प्रहरी प्रमुख रिजालले सामुदायिक सेवा केन्द्रहरुले नागरिक र प्रहरीको बिचमा पुलको काम गरेको भन्दै प्रशंसा गरे ।
कार्यक्रमको अवसरमा काठमाडौ महानगरपालिकाको आर्थिक सहयोगमा धार्मिक भ्रमण तथा सामुदायिक अवलोकनको लागी आएको १३० जनालाई स्वागत गरिएको थियो । काठमाडौंको पुरानो बस पार्क सामुदायिकका पदाधिकारी, कार्यसमिति सदस्य, पुर्व अध्यक्ष, जेष्ठ नागरिकहरूलाई अध्यक्ष विष्टले स्वागत गरेका थिए ।
उक्त अवसरमा काठमाडौं महानगरपालिका वडा नम्बर २८ पुरानो बसपार्क सामुदायिक केन्द्रका अध्यक्ष एवं कार्यक्रमका विशिष्ट अतिथि कमरूदिन मियाले केन्द्रले गरिरहेको विभिन्न गतिविधिका बारेमा जानकारी गराउँदै सामुदायिक सेवा केन्द्र मकवानपुरलाई काठमाडौ भ्रमणको निम्ता दिएका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारी, ईलाका प्रहरी कार्यालय पशुपतिनगरका निमित्त प्रमुख सुन्दर कार्की दुबै केन्द्रका पदाधिकारी, कार्यसमिति सदस्य, पुर्व अध्यक्ष, स्वयसेविका, जेष्ठ नागरिक लगाएतको उपस्थिति रहेको थियो ।