हेटौंडा \ हेटौडा–६, चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २७ औं वार्षिक साधाणसभा शनिवार भएको छ । संस्थाका अध्यक्ष हिमाल पौडेलको सभाध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सभा भएको थियो । सभामा बोल्दै श्रेष्ठले सहकारीको माध्यमबाट गरिबी न्यूनीकरण गर्न सकिने बताए । देशमा भएको आर्थिक मन्दीको असर विस्तारै सहकारी क्षेत्रमा पनि आएका भन्दै संघीय सरकारले समयमै आवश्यक नीति नअपनाए समस्या देखिने बताए ।
सरकारको तीन खम्बे नीति लिएको अवस्थामा हामीले पनि सहकारी क्षेत्रलाई साथ दिँदै अघि बढ्नुपर्ने बताए । सहकारीलाई राज्यले नियमन गर्ने दायित्व रहन्छ र सदस्यहरुले बचत गरी सहकारीप्रति पनि आवश्यक आफ्नो दायित्व पुरा गर्न आग्रह गरेका थिए । सहकारी क्षेत्रलाई जर्गेना गर्न प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोगको लागि पहल गरिने बताए ।
सभामा संस्थाका अध्यक्ष हिमाल पौडेलले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष चेतनाथ खतिवडाले आर्थिक प्रतिवेदन, लेखा संयोजक दिपनराज आचार्यले लेखा समितिको प्रतिवेदन र महिला उपसमितिकी संयोजक रेखा मैनालीले महिला उपसमितिको प्रतिवेदन पेश गरेका थिए ।
सभाको अवसरमा १२ विधामा विभिन्न व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । सहकारीले सञ्चारकर्मीतर्फ सिधाखबर डटकमका सम्पादक श्रीराम अर्जुनलाई सम्मान गरिएको थियो भने संस्थापक सदस्यतर्फ खीलप्रसाद गौतम, रघु प्रसाद आचार्य, रमेश प्रसाद लामिछाने, प्रह्लाद शर्मा आचार्य, जेष्ठ नागरिकतर्फ ईन्द्र सिं थिङ र राममाया डिम्डुङ, नियमित बचततर्फ सानोकान्छा थिङ र बबिता थापालाई सम्मान गरिएको थियो ।
यसैगरि उद्यम व्यवसायी तर्फ सुशीला श्रेष्ठ, मधुवन श्रेष्ठ, असली कारोबारीमा हेमाकुमारी तिमल्सिना, सोमप्रसाद रुपाखेती, सदस्यता वृद्धिगर्ने मधुकुमार दंगाल, कर्मचारीतर्फ ऋण शाखा प्रमुख रेखा पौडेल, बाल बचतकर्तातर्फ आरुसी ढकाल र अन्मीन अर्याललाई सम्मान गरिएको थियो । त्यस्तै, समूह बचततर्फ पशुपति समूहका रचना नेपाल, अशोकबाटिका समूहका निर्मला विक, न्यूरेनी समूहका राधा हुमागाई, विन्दबासिनी समूहका टीकाकुमारी केसी, अपाङ्गतातर्फ लक्ष्मी श्रेष्ठ र एकैदिन सदस्यता लिने ८ दम्पतीजोडीलाई समेत पुरस्कृत गरिएको थियो ।
साधारणसभामा हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, बागमती प्रदेश दुग्ध विकास बोर्डका सञ्चालक सदस्य एवम संस्थाका संस्थापक अध्यक्ष बासुदेव अधिकारी, जिल्ला बचत तथा ऋण सहकारी संघका सदस्य शंकर कालाखेती, नेफ्स्कुन फिल्ड उपसमिति सदस्य राजु गौतम, हेटौडा साकोसका अध्यक्ष ईन्द्र बहादुर बस्नेत, कामधेनु बहुउद्धेश्यीय सहकारीका अध्यक्ष उदय विडारी, सुनगाभा बहुउद्धेयीय सहकारीका अध्यक्ष रामहरि न्यौपाने, संस्थाका सल्लाहकार बद्री बहादुर पाठक, रानी सामुदायिक वनका उपाध्यक्ष केशव धिताल लगायतको आतिथ्यता रहेको थियो ।
२ हजार ८ सय १३ जना शेयर सदस्य रहेको यस सहकारीको शेयर पूँजी २ करोड ५३ लाख ७८ हजार २ सय रहेको छ । त्यस्तै बचत निक्षेप २१ करोड १५ लाख ५१ हजार २८६ रुपैयाँ रहेको संस्थाका व्यस्थापक दीपेन्द्र गौतमले बताए । सहकारीले विभिन उद्देश्यका लागि २० करोड ५ लाख ४४ हजार ५५६ कर्जा लगानी रहेको गौतमले बताए ।
सभाकै अवसरमा संस्थाका अध्यक्ष हिमाल पौडेलद्वारा स्वर्गीय पिता जगनाथ पौडेलको स्मृतिमा स्थापित छात्रवृति वंशगोपाल मावि चौघडामा कक्षा ११ मा अध्ययनरत शान्तिकुमारी साह र पवित्रा अधिकारीलाई प्रदान गरिएको छ । यसैगरि समाजसेवी तथा सञ्चारकर्मी भीमसेन पौडेलले आफनी स्व.धर्मपत्नी दुर्गादेवी पौडेलको स्मृतिमा स्थापित छात्रवृति मामाघर नेपालमा आश्रय लिई आनन्द भैरव आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत श्रवण पहाडी, वंशगोपाल मावि, चौघडामा कक्षा ९ मा अध्ययनरत आष्मा राजभण्डारी र भानु मावि, मक्रान्चुलीमा कक्षा १० मा अध्ययनरत पूजा दाहाललाई प्रदान गरिएको छ । छात्रवृति रकम जनही ५ हजार रहेको छ । उक्त रकम निजहरुका आमा कृष्णकुमारी पौडेलले वितरण गरेकी थिइन् ।