हेटौंडा \ जिल्ला समन्वय समिति मकवानपुरको सोमबार हेटौंडामा वार्षिक समीक्षा कार्यक्रम भएको छ । जिसस प्रमुख ललित बहादुर घलानको सभाध्यक्षता तथा बामगती प्रदेश आर्थिक तथा योजना मन्त्री बहादुर सिं लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा आर्थिक वर्ष २०७९/८०को वार्षिक समीक्षा गरिएको थियो ।
समीक्षा बैठकमा मकवानपुरका १० वटै स्थानीय तहले वार्षिक कार्यक्रमको समष्टिरुपमा समेटिएको कार्यपत्र प्रस्तुत गरेका थिए । स्थानीय तहको साझा समस्या नदिजन्य पदार्थ सम्बन्धी संघीय र प्रदेश कानुन र स्थानीय तहमा निर्माण भएको कानुनबीच भएको कार्यान्वयनको पाटोले गर्दा समस्या उत्पन्न भएको बताएका थिए । संघीय कानुनमा टेकेर तयार भएका नदीजन्य पदार्थ उत्खनन्, विक्री वितरणका विषयका कानुनहरु प्रदेश सरकारले पछि तयार पारेका कानुनले समस्या उत्पन्न भएको स्थानीय सरकारका प्रमुखहरुले बताएका थिए ।
कार्यक्रममा प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, प्रेमबहादुर पुलामीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्लाका पालिका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर सेडाई, पालिकाका उपाध्यक्षहरु, विभिन्न कार्यालयका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, राजनितिक दलका प्रतिनिधिहरु विभिन्न सामाजिक संघसंस्थाका प्रमुखहरु लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको अवसरमा जिसस मकवानपुरले वन, सहकारी, विद्यालय, खेल, कर्मचारी, सामाजिक संस्था तथा व्यत्तित्वहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमलाई जिसस उपप्रमुख सानुकाजी लुईटेलले कार्यक्रमको विषयवस्तु बारे प्रष्ट पारेका थिए ।