हेटौंडा \ नेपाल स्वास्थ्य स्वयंमसेवी संघ(नेभा)ले विभिन्न १० बुँदे माग राख्दै हेटौँडा उपमहानगरपालिकालाई मंगलबार ज्ञापन पत्र बुझाइएको छ । स्वयंमसेविका दिवसको अवसर पारेर संघका जिल्ला अध्यक्ष एंव केन्द्रीय सदस्य गंगा राजथलाले हेटौंडा उपमहानगरका कार्यबहाक नगर प्रमुख राजेश बानियाँलाई ज्ञापन पत्र बुझाइएको हो ।
सामुदायिक महिला स्वास्थ्य स्वयमसेविकाहरु विगत २०४५/४६ सालदेखि निरन्तर रुपमा सेवा दिदै आएका स्वास्थ्य स्वयंम सेविकाहरुले बाल मृत्युदर तथा मातृ मृत्युदर घटाउन र नेपाल सरकारले ल्याएको विभिन्न अभियानहरुलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्दै आइरहेका छ ।
उनीहरुले ६० वर्ष उमेर पुगेका सामुदायिक महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई विदाई गर्दा दिदै आएको बीस हजारलाई वृद्धि गरी प्रति वर्ष बीस हजारका दरले हुन आउने एकमुष्ठ रकम सेवा कदर स्वरुप प्रदान गरियोस् । मानवीय सेवामा निरन्तर सक्रिय रहेका सामुदायिक महिला स्वास्थ्य स्वयमसेविकाहरुको अवस्था अशक्त भएको अवस्थामा निजहरुलाई औषधोपचार निःशुल्क गर्ने व्यवस्था मिलाउन भनिएको छ । स्वयमसेविकालाई समय सापेक्षित तालिमको व्यवस्था गरियोस् । तालिम गोष्ठी र राष्ट्रिय अभियानमा दिँदै आएको चार सयलाई वृद्धि गरी एक हजार दिनुपर्ने माग राखेका छन् ।
त्यस्तै मागहरुमा सामुदायिक महिला स्वास्थ्य स्वयमसेविकालाई चाडपर्व खर्च बापत पन्ध्र हजार प्रदान गरियोस् । सामुदायिक महिला स्वास्थ्य स्वयमसेविकालाई आधारित सामाजिक सुरक्षा कोषमा व्यवस्था गरिनुका साथै देशभरीका स्वयमसेविकालाई केन्द्र देखि नगरपालिका र गाउँपालिकाहरुलाई दिइने सुविधामा एकरुपता कायम गर्नुपर्ने माग राखिएको छ ।
नेपाल सरकारले स्वास्थ्य स्वयमसेविकाहरुको नीति तथा कार्यक्रम बनाउँदा स्वयमसेवी संघको पनि प्रतिनिधित्व गराउने व्यवस्था गराइयोस् । स्वास्थ्य स्वयमसेविकाहरुले मासिक रिपोर्ट बुझाए बापत पाँच हजार कायम गर्न भनीएको छ ।
आमा सुमहबाट सामुदायिक महिला स्वास्थ्य स्वयमसेविका नियुक्ति गर्ने व्यवस्थालाई परिमार्जन गरि आमा समूहहरुले स्वयंसेविकालाई हटाउने व्यवस्था खारेज गरिनुपर्ने माग रहेको ज्ञापनपत्रमा उल्लेख रहेको छ । त्यस्तै, समय सापेक्षिक उपकरणहरु (थर्मगन, अक्सिमिटर, स्ट्रेपस्कोप) को तालिम दिइनुका साथै सामाग्रीहरु पनि उपलब्ध गराउनु अनुरोध गरिएको छ ।
पत्र बुझ्दै कार्यबहाक नगरप्रमुख बानियाँले स्वंयमसेविकाले गर्नुभएको योगदानको प्रशंसा गर्दै नगरप्रमुखको उपस्थितीमा बैठक बसी यस विषयमा आवश्यक निर्णय लिने प्रतिवद्धता जाहेर गरेका थिए ।