हेटौंडा \ जिल्लाको खेलकुद क्षेत्रको विकासका लागि यही पुष ५ गतेबाट आयोजना हुन लागेको बृहत् खेलकुद तथा व्यापार महोत्सव प्रति मकवानपुरका खेलकुद संघका पदाधिकारी एवम् खेलाडीहरु उत्साही बनेका छन् । खेलकुद विकास समितिमा आबद्ध विभिन्न संघका पदाधिकारी तथा खेलाडीहरुले मंगलबार महोत्सव आयोजना स्थल टिसिएन चौरको सरसफाई गरेका छन् ।
खेलकुद र खेलाडीको हितको लागि आयोजना गर्न लागिएको महोत्सव सफल बनाउन सबै एकजुट रहेको उनीहरुको भनाई रहेको छ । उनीहरुले चौरको झाडी तथा फोहोर सरसफाई गरेका हुन् । मकवानपुर जिल्ला फुटबल संघका कार्यसमिति सदस्य आलोक स्याङ्तानले नितान्त खेल क्षेत्रको विकासका लागि आयोजना हुन लागेको महोत्सवका लागि सबै खेलकर्मी र जिल्लाबासीले नै सहयोग गर्नु जरुरी रहेको धारणा राखे ।
‘यो खेलकुद महोत्सव हो । यो हामी खेलकुदमा लागेका खेलकर्मी र खेलाडीको हितमा काम गर्ने योजना सहित गर्न लागिएको हो’, उनले भने, ‘यसलाई सफल बनाउन हामी सबै खेलकर्मी एकजुट छौं । आम जिल्लाबासीबाट सहयोगको अपेक्षा समेत राखेका छौं ।’ आयोजक संस्था खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गीले विभिन्न संघका पदाधिकारी एवम् खेलाडीहरुको साथ र सहयोगले नै खेलकुद महोत्सव सफल हुने धारणा राखे । ‘मकवानपुरको खेलकुदको विकासमा लागि केही रकम जोहो गरौं भन्ने पवित्र उद्देश्यले महोत्सव गर्न लागेका हौं । हाम्रो एउटै उद्देश्य छ यहाँको खेलकुद क्षेत्रको विकासमा टेवा पु¥याउने’, अध्यक्ष खड्कीले भने, ‘सबै खेलकुद संघका पदाधिकारी र खेलाडीको सहयोगले थप उर्जा मिलेको छ ।’
महोत्सवमा राष्ट्रिय, प्रदेश तथा स्थानीय गरी १३ वटा विभिन्न विधामा खेलकुद प्रतियोगिता हुनेछ । महोत्सवमा महिलाको राष्ट्रिय उसु प्रतियोगिता, महिलाकै राष्ट्रिय भलिबल, कबड्डीतर्फ महिला पुरुष दुवै विधाको प्रदेशस्तरीय प्रतियोगिता हुनेछ । यस्तै कराँतेको जिल्लास्तरीय प्रतियोगिता, फुलकन्ट्याक्ट कराँतेको जिल्ला स्तरीय, आर्चारीको खेल प्रदर्शन, रेस्लिङको आमन्त्रित र कुस्तीको अन्तर्राष्ट्रिय प्रदर्शन गर्ने आयोजकको तयारी छ । ब्याड्मिन्टनको खुला प्रतियोगिता, आइटीएफ तेक्वान्दो र हक्कीको प्रदेशस्तरीय प्रतियोगिता र महिलाको लागि ७ ए साइड फुटबल प्रतियोगिता गर्ने आयोजकले जानकारी दिएको छ । सबै प्रतियोगिताको विजेता उपविजेताले नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
खेलकुद महोत्सवबाट कम्तिमा २५ लाख रुपैयाँ खेलकुद विकास समितिले बचत गर्ने लक्ष्य राखेको छ । महोत्सवबाट प्राप्त हुने रकम खेलकुद समितिमै राखेर खेल र खेलाडीको बृत्तिविकासमा लगाउने योजना रहेको छ । महोत्सवमा खेलकुदको स्पर्धासँगै कृषि, पर्यटन, हस्तकला, खेलकुद सामग्री, धार्मिक, सामुदायिक, स्वास्थ्य, जनचेतनामुलक, खानाखाजाका स्टल समेत रहनेछ । यस्तै बाल उद्दान, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, खुला नृत्य प्रतियोगिता र लाइभ दोहोरी समेत आयोजना हुनेछ ।