हेटौँडा \ हेटौँडा ८ कमानेमा व्यापार प्रवद्र्धन एंव प्रदर्शनी गर्दै सडक महोत्सव हुने भएको छ । वडा नम्बर ८ को आयोजनामा आउँदो शुक्रबार र शनिबार सडककै व्यापार प्रवद्र्धन एंव प्रदर्शनी हुने भएको हो । आइतबार पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी गराइएको थियो ।
वडा नम्बर ८ को चालु वार्षिक कार्यक्रम अन्तरगत स्थानीय व्यापार, स्थानीय प्रवद्र्धन, स्थानीय प्रदर्शनी लाई मुख्य नाराका साथ वडा भित्र रहेका स्थानीय व्यापार व्यवसाय, कला, साँस्कृतिक पहिचान र प्रदर्शनी गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिन लागिएको वडाध्यक्ष रामकृष्ण थापाले बताए ।
कमानेको मेनरोड नीमचोक देखी सागरचोक करिब १५० मिटर क्षेत्रको सडकमै महोत्सव गर्छौ, प्रचारप्रसार संयोजक सुदीप गिरीले भने । कमानेको किनौं, कमानेलाई चिनौं भनी महोत्सवलाई सफल पार्न सबैपक्षलाई आग्रह समेत गरेका छन् ।
महोत्सवमा ७० वटा स्टल रहनेछ । संस्थागत रुपमा आउने र वडाभित्रकोलाई २ हजार शुल्क लाग्ने छ भने वडा बाहिरकालाई तीन हजार शुल्क लाग्ने महोत्सव संयोजक विष्णुप्रसाद अर्जेलले बताए । हेटौंडा उपमहानगरका १९ वडा बाहेकको अन्य स्थानको स्टल नरहने संयोजक अर्जेलले बताए । वडाबाट तीनलाख बजेट विनियोजन भएको छ भने महोत्सवमा करिब ७ लाख भन्दाबढी खर्च हुने अनुमान रहेको संयोजक अर्जेलले बताए ।
महोत्सवमा बाल तथा आमा समूहका स्टलहरु रहनुका साथै स्थानीय उत्पादित वस्तुहरुको स्टल रहनेछ भने खानाका पनि स्टल रहने आयोजकले जनाएको छ । महोत्सवमा वडामा रहेका १९ वटै टोल विकास संस्थाको उत्पादनलाई प्रवद्र्धन गरिने छ ।