मनहरी \ मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ ज्यामिरे प्रणामी टोलमा गार्मेन्ट उद्योग सञ्चालनमा आएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा गार्मेन्ट सञ्चालनमा आएको हो । आइतबार गार्मेन्ट उद्योग सञ्चालनको सुरुवात गर्नुहुँदै गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले जनताको आवश्यकता अनुसार बजेट बनाई गार्मेन्ट उद्योग सञ्चालन गरिएको बताउनुभयो ।
गाउँपालिकाले दिएका सीपमुलक तालिमको सदुपयोग गर्नकै लागि गार्मेन्ट सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । हामीले पालिकाभित्र विभिन्न सीपमूलक तालिम तथा प्रविधिलाई जोड्दै बजेट विनियोजन गरी कार्यक्रमहरु गर्दै आइरहेको अध्यक्ष कालाखेतीले बताउनुभयो ।
उहाँले काम गर्दै र थप जनताले रोजगारी बन्दै गयो भने थप लगानीको लागि गाउँपालिका तयार रहेको बताउनुभयो । पालिकामा थन्किएर बसेको स्वीटर बुन्ने मेसिन गार्मेन्टलाई हस्तान्तरण गरिने भन्दै अध्यक्ष कालाखेतीले उत्पादित कपडाको गुणस्तरीयतामा ध्यान दिन समेत आग्रह गर्नुभयो ।
भोलीका दिनमा पालिका भित्र आवश्यक कपडाहरु यहिको प्रयोग गर्ने आधार तयार पार्न सुझाव दिँदै रेडिमेट कपडा बाहिरबाट ल्याउन नपरोस् र मनहरीकै दिदीबहिनीले उत्पादन र सिलाई गरेको कपडा लगाउन पाइयोस्ः अध्यक्ष कालाखेतीले भन्नुभयो ।
गार्मेन्टबाट पालिकाको महिला दिदीबहिनीले सीपको सदुपयोग मात्र गर्न होईन रोजगार प्राप्त समेत गर्नेमा विश्वास लिएका छन् । सियो धागो सिलाई श्रम सहकारी संस्थाद्वारा सञ्चालनमा आएको गार्मेन्टको लागत साठ्ठी लाख रहेको संस्थाका अध्यक्ष भुवन कुमार गौतमले जानकारी दिनुभयो । मनहरी गाउँपालिकाबाट (६०–४०) अन्तर्गत को कार्यक्रमबाट दश लाख रुपैयाँ सहयोग प्राप्त गरेको संस्थाले बीस लाख रुपैयाँ बराबरको भवन, बीस लाख रुपैयाँ बराबरको मेसिन र दश लाख रुपैयाँ बराबरको अन्य व्यवस्थापन गरि साठ्ठी लाख बराबरको लगानीमा उत्पादन कार्य थालनी गरिएको संस्था अध्यक्ष गौतमले बताउनुभयो । पहिलो चरणमा ग्रार्मेन्टमा तीस जनालाई प्रत्यक्ष रोजगार दिन सकिने जनाइएको छ ।
चार कट्ठा क्षेत्रफल रहेको गार्मेन्ट बीस वर्ष सम्मको लागि लिजमा लिइएको छ । अध्यक्ष गौतमले सीप सिक्न र सिकेका सीपको सहि सदुपयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ । गार्मेन्टबाट उत्पादित कपडाहरु मनहरी ५ र ९ नम्बर वडाको सरकारी स्कुलले प्रयोग गर्ने गरि सहकार्य अगाडि बढेको भन्दै उत्पादित तयारी पोशाकको गुणस्तरमा कुनै कसुर नराखिने अध्यक्ष गौतमले बताउनुभयो । गार्मेन्टबाट सरकारी कार्यालय, विद्यालय, क्याम्पसका लागि आवश्यक कपडा, ज्याकेट, झोला लगाएत अन्य तयारी पोशाक उत्पादन गर्ने लक्ष्य रहेको छ ।