हेटौडा / बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कर्मचारी अभाव, दहत्तर बहत्तर संकलन लगायत स्थानीय सरकार संचालनका क्रममा परेका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । सोमबार मुख्यमन्त्री कार्यलय हेटौडामा गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेश समितिले बुझाएको ध्यानाकर्षण पत्र पछि सम्बोधन गर्दै उहाँले गाउँपालिका महासंघले उठाएका समस्याहरु समाधानका लागी आफु तयार रहेको बताउनु भयो । दहत्तर बहत्तर संकलनमा देखिएको समस्या आफुलाई प्रत्यक्ष थाहा भएको भन्दै मुख्यमन्त्री जम्कट्टेलले स्थानिय सरकार र प्रदेश सरकार मिलेर सबै समस्या समाधान गर्नुपर्नेमा जोड दिनु भयो ।
उहाँले राजस्व संकलनमा परेको असरले स्थानीय तथा प्रदेश सरकार संचालनमा समस्या परेको भन्दै स्थानिय तहका छातासंस्थाहरुसंगको समन्वयमा समास्या समाधान गर्न आफु ततपर रहेको बताउनु भयो । स्थानिय सरकार र प्रदेश सरकार बिच समन्वय गर्दै आईपरेका समस्याहरुलाई समाधान गर्नुपर्नेमा उहाँले जोड दिनु भयो । गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कर्णबहादुर मगरले मुख्यगरी कर्मचारी समस्या दहत्तर बहत्तर संकलन लगायतका समस्याहरुलाई तत्काल सम्बोधन गरिदिन आग्रह गर्नु भयो ।
उहाँले प्रदेश समपुरक र विशेष अनुदान कार्यविधि संशोधन गर्न, स्थानीय सरकारसंग सम्बन्धित कानूनहरु निर्माण गर्दा गाउँपालिका राष्ट्रिय महासंघको अनिवार्य सहभागिता गराउन, स्थानीय सरकारका जनप्रतिनिधि तथा कर्मचारीहरुको क्षमता अभिबृद्धि तालिम महासंघको सहकार्यमा गर्न प्रदेश सरकारसंग आग्रह गर्नु भयो ।
मुख्यमन्त्रीलाई बुझाईएको ध्यानाकर्षण पत्रमा गाउँपालिका महासंघ बागमती प्रदेश कार्यालय संचालन गर्न अनुदानको व्यवस्था गर्न, स्थानीय सरकारको कर्मचारी सरुवा बढुवा हुँदा सम्बन्धित गाउँपालिकासंगको समन्वयमा मात्रै गर्न र दहत्तर बहत्तर संकलन लगायतका कानूनी जटिलता हटाउन महासंघले प्रदेश सरकारसंग माग गरेको छ ।
महासंघ बागमती प्रदेश कार्यसमिति सचिव कान्छालाल जिम्बा, सहसचिव मानकुमारी पाख्रिन र सदस्य फणीन्द्र तिमल्सिना संगै अध्यक्ष मगरको टोलिले स्थानीय तहमा कर्मचारी अभावको समस्याबारे प्रदेश लोकसेवा आयोगका पदाधिकारी,बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्याय र प्रदेश कितावखानाका निर्देशक अनिता तामाङसंग पनि छुट्टा छुट्टै छलफल तथा भेटघाट गरेको थियो ।