हेटौँडा \ संघीय सरकारका अर्थमन्त्री एंव नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अर्थतन्त्रको इन्डिकेटर पुरा भइसकेकोले निराशा हुनुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभएको छ । मङ्गलबार हेटौँडामा नेपाली कांग्रेस मकवानपुरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री महतले देशमा अवसरहरु धेरै छन्, व्याजदर घट्दोक्रममा छ, लगानीतर्फ निर्धक्कपूर्वक लाग्न आग्रह गर्नुभयो ।
अहिले धेरै आर्थिक सहजता हुनका साथै राष्ट्रबैंकले व्याजदर घटाएको, शेयर मार्केट र जग्गाको कारोबार समेत सुरु भएको, पर्यटक बढ्दोक्रममा रहनुका साथै विदेशी रेमिट्यान्स पनि उच्च वृद्धि भइरहेको मन्त्री महतले बताउनुभयो ।
कर नतिर्नेलाई करको दायरामा ल्याउने निर्णय सँगै बैंक र बीमा कम्पनीले कर तिर्न थालिसकेको बताउनुभयो । सरकारले लिने कर्जालाई अब उत्पादन र परिणाममुखी क्षेत्रमा लगानी गर्ने उद्घोष गर्नुभएको छ । उहाँले अब जलविद्युत, प्रविधिमैत्री कृषि, आइटी क्षेत्र, पर्यटन र सडकसञ्जाललाई वृद्धि विकास गर्न लगानी गर्ने बताउनुभयो ।
देशको अर्थतन्त्र सुधारोन्मुख हुँदैछ, वीत्त व्यवस्थामा धेरै अनुशासनहरु तोडियो र हामीले त्यसबेला मौद्रित नीति ल्याइयो र सहज वातावरण सिर्जना गरियो, मन्त्री महतले भन्नुभयो । सहज अवस्थामा धेरै ऋण प्रवाह भयो तर जुनबेला कोभिडले आर्थिक गतिविधि गर्न नसक्ने अवस्था थियो, ऋणजति शेयर मार्केट र जग्गामा लगानी गर्नुपर्ने अवस्थाले त्यसको प्रभावले अहिले समस्या उत्पन्न भएको मन्त्री महतले बताउनुभयो ।
डा. महतले कांग्रेसीहरुलाई दत्तचित्त भएर एकताका साथ पार्टीमा लाग्न आग्रह गर्नुभएको छ । उहाँले हाम्रो ठुलो पार्टी हो, नयाँ पार्टी जस्तो कार्यकर्ता खोज्नुपर्ने अवस्था होइन्, यहाँ अवसर धेरै छन्, अहिले भएन भने पनि अर्को पटक पाइन्छनै आफ्नो जिम्मेवारीलाई पुरा गर्न आग्रह गर्नुभएको छ । पार्टीले उठाएको उम्मेदवारलाई जिताउन सबै लागे कांग्रेसले बहुमत ल्याउने बताउँदै हामीमा एकताभाव, सद्भाव र एकीकृत भएर लाग्नुपर्ने अनुरोध गर्नुभयो । कुनै दलसँग पनि बहुमत नभएकाले गठबन्धन गर्नुपरेको बताउँदै सहकार्य र सहमतिका बीच हामीले गठबन्धन गरेका हौं, मन्त्री महतले भन्नुभयो ।
उहाँले पार्टीको तर्फबाट सरकारमा गएको हुँ, सरकारका रहँदा मेरो पहिलो प्राथमिकता जनता र देश, दोस्रो प्राथमिकता पार्टी र कार्यकर्ता रहेको बताउँनुभयो ।
कांग्रेस जिल्ला सभापति बुद्ध लामाको सभाध्यक्षतामा भएको सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदन बहादुर अमात्य, बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ, नेता गुरुराज घिमिरे, चितवन सभापति राजेश्वर खनाल, ललितपुर सभापति जीतेन्द्र श्रेष्ठ लगायत नेताहरुको आतिथ्यता रहेको थियो ।