हेटौंडा \ पत्रकार सम्मेलन गर्दै मेलाको विरोध जनाएको मउवा संघले अन्तत मेला आयोजक संस्थासँग घुडा टेकेको छ । खेलकुदको नाममा व्यापार महोत्सव आयोजना गरिएको भन्दै पत्रकार सम्मेलन गरेर मेला नरोकिए बजार समेत बन्द गर्ने र विरोधका कार्यक्रमहरु गर्ने चेतावनी दिएको मकवानपुर उद्योग वाणिज्य संघले अन्तत मेला सञ्चालनमा सहमती जनाउन बाध्य बनेको हो । व्यवसायीहरुको नचाहिदो दबाबमा हिडेको मउवा संघले आफुले मात्र मेला आयोजना गर्न पाउनुपर्ने माग गलत थियो । आफना संस्थाका सदस्यहरुको हुटहुटीमा हिडेको मउवा संघलाई स्थानीय तह र सरकारी तबरबाट समेत असहयोग पाएपछि मेला सञ्चालन हुनुको विकल्प अरु देखेन ।
मेला आयोजनाका लागी हेटौडा उपमहानगरपालिकाले सुरुमै सहमती प्रदान गरेको थियो । स्थानीय निकायबाट सहमती पाएको मेला आयोजक जिल्ला खेलकुद विकास समिति र औद्योगिक शान्ति नेपालले अन्तत हेटौंडामा बिहिबार देखी मेला आयोजना गराएर देखाउने भएका छन् । मेला बन्द गराउन चौतर्फी दबाब दिईरहेको मउवा संघले अन्तत लामो छलफल र सहमतीबाट मेला सुचारु गराउन सहमति बनाएको मउवा संघ अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालले बताउनु भयो । हामीलाई बजारका व्यवसायीहरुले मन्दी छाएर बजारमा व्यापार नभएको अवस्थामा झनै बजारमा ग्राहकहरु नआउने मेला तर्फ जाने भन्दै मेला बन्द गराउन चर्को दबाव आएका कारण हामीले उनीहरुको कुरालाई मानेर मेला नगराउन सरोकारवालाहरुलाई आग्रह गरेका थियौ तर मुख्यमन्त्रीज्युलेनै मेला उद्घाटन गर्ने भनेपछि हामी व्याक भएका हौ अध्यक्ष अग्रवालले बताउनु भयो ।
हामी व्यवसायीहरुको नेता भएकाले उहाँहरुको कुरालाई सुन्नु र कार्यान्वयन गराउनु दायित्वमा पर्छ हामीले जसले पायो उसले मेला गर्न हुदैन दिनहु यस्ता मेला आयोजना हुन थाल्यो भने के गर्ने भन्ने कुराले गर्दा मेला रोक्न खोजेका हौ,सरकारनै मेला गराउन लागीपर्छ भने हामीले रोकेर मेला रोकिने होईन अध्यक्ष अग्रवालले बताउनु भयो । मउवा संघले हरेक वर्ष आयोजना गर्दै आएको मेला यो पटक व्यवसायीहरुकै अनुरोधमा मेला नगराउन भनेकाले हामीले गरेनौ तर हामीले नगरे पनि अरुले गर्नुहुदैन भन्ने हाम्रो मनसाय चै होईन, मेला कस्ता संस्थाले आयोजना गर्ने उद्देश्य के हो त्यो चै प्रदेश सरकार र स्थानीय सरकारले बुझ्नु जरुरी छ अग्रवालले बताउनु भयो ।
उहाँका अनुसार मेला आयोजना गर्न अन्तिम चरणमा पुगेपछि मेला रोकेर भएको खर्च झनै समस्या उब्जने भन्दै केही कुरामा सहमती गरेर मेला अगाडी बढाउने सहमती भएको उहाँले बताउनु भयो । सहमती अनुसार मेलामा कपडा र जुत्ताको स्टल हेटौडाकै व्यवसायीहरुको रहनुपर्ने, बाहिरको राख्न नपाईने, अनुगमनमा बाहिरको व्यवसायीले राखेको भेटिए कारवाही हुने र आगामी दिनमा हेटौडामा यस्ता महोत्सव मेला आयोजना हुदा मउवा संघसँगको छलफल र सहमतीबाट मात्र स्थानीयतहले स्वीकृत दिने जस्ता सहमती भएको मउवा संघका एसोसिएट उपाध्यक्ष उज्जवल चौलागाईले बताउनु भयो ।
मउवा संघले खेलकुदको नाम जोडेर व्यापार मेला गर्न स्वभाविक नभएको भन्दै विरोध गर्दै आएको थियो । कि खेलकुदको मात्र महोत्सव गर्नु परयो होईन भने जसले पायो उसले मेला गरिरहने हो भने परिपाटी बिग्रने संघको धारणा थियो । मउवा संघले मेलाको विरोध जनाएपछि मेला आयोजकले पनि हेटौडाकै व्यवसायीहरुलाई न्युनत्तम शुल्कमा स्टल राख्न समेत आग्रह गरेको थियो । यसलाई समेत नजरअन्दाज गर्दै कसैको व्यक्तिगत ईगोमा मेला बन्द गराउन मउवा संघलाई उकास्ने व्यवसायीहरुले पनि बुझ्नु जरुरी छ कि आफुले गरे सबै ठिक अरुले गरे बेठिक ।
उता मकवानपुरको खेल क्षेत्रको विकासको उद्देश्यसहित बिहिबार देखी सञ्चालन हुन लागेको वृहत खेलकुद तथा व्यापार महोत्सवको तयारी करिव अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । खेलकुद महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्ने आयोजकले जनाएको छ । महोत्सव आयोजना स्थल टिसिएन चौर महोत्सवको लागि सजिएको छ । खेलकुद र खेलाडीको हितको लागि आयोजना हुँदै गरेको महोत्सव सफल बनाउन सबै एकजुट रहेको उनीहरुको भनाई रहेको छ ।
‘पवित्र उद्देश्यले आयोजना गर्न लागिएको यस महोत्सवलाई सबैले सहयोग गरिदिन आयोजक संस्था मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गीले आग्रह गर्नु भएको छ । महोत्सवमा राष्ट्रिय, प्रदेश तथा स्थानीय गरी १३ वटा विभिन्न विधामा खेलकुद प्रतियोगिता हुनेछ । महिलाको राष्ट्रिय उसु प्रतियोगिता, महिलाकै राष्ट्रिय भलिबल, कबड्डीीतर्फ महिला पुरुष दुवै विधाको प्रदेशस्तरीय प्रतियोगिता, कराँतेको जिल्लास्तरीय प्रतियोगिता, फुलकन्ट्याक्ट कराँतेको जिल्ला स्तरीय, आर्चारीको खेल प्रदर्शन, रेस्लिङको आमन्त्रित र कुस्तीको अन्तर्राष्ट्रिय प्रदर्शन गर्ने आयोजकको तयारी छ ।
महोत्सवमा खेलकुदको स्पर्धासँगै कृषि, पर्यटन, हस्तकला, खेलकुद सामग्री, धार्मिक, सामुदायिक, स्वास्थ्य, जनचेतनामुलक, खानाखाजाका स्टल समेत रहनेछ । यस्तै बाल उद्दान, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, खुला नृत्य प्रतियोगिता र लाइभ दोहोरी समेत आयोजना हुने आयोजकले जानकारी दिएको छ ।