हेटौंँडा \ हेटौँडामा तीनदिन सडक खाना महोत्सव हुने भएको छ । होटल एशोसिएसन अफ मकवानपुरको आयोजनामा आगामी पुस १३, १४ र १५ गते सडक खाना महोत्सव हुने भएको हो । विहीबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै एशोसिएसनका कार्यबहाक अध्यक्ष एंव महोत्सव कार्यक्रम संयोजक विष्णुगोपाल महर्जनले सन् २०२४ को स्वागत गर्दै सडकमा जाऔं, सडकमा खाऔं र सडकमै रमाऔं भन्ने नाराका साथ तीनदिन महोत्सव गरिन लागिएको बताए ।
कोभिड र अन्य विविध कारणले २०७६ देखी गर्न नसकेको खाना महोत्सव यस वर्ष भने हुप्रचौरको पुर्वी क्षेत्रको सडकमा गर्न लागेका छौं, महर्जनले भने । हामीले बुद्धचोक व्यस्त बजार बन्नु, कोभिड हुनु, स्पोन्सर नभएकाले विगतका महोत्सवमा घाटा हुनाले महोत्सव गर्न नसकेको महर्जनले बताए ।
यस वर्ष हेटौंडा उपमहानगरको आर्थिक सहयोग र स्टलबापतको रकमबाट महोत्सव सम्पन्न गर्ने लक्ष्य एशोसिएसनको रहेको बताइएको छ । पर्यटनको आन्तरिक टेवा पुग्ने हिसाबले र स्थानीय उत्पादनका खानाका परिकार, स्थानीय कलाकारहरुको प्रस्तुती महोत्सवमा रहने संयोजक महर्जनले बताए ।
महोत्सवमा ४० वटा स्टल रहने छ भने प्रतिस्टल सात हजार पाँच सय रहने जनाइएको छ । हुप्रचौरमा हुने महोत्सवमा ३० हजार दर्शकले अवलोकन गरिने अनुमान आयोजकको रहेको छ । यो खाना महोत्सव १० औं रहेको छ । एशोसिएसनले २०६५ सालदेखी सडकमा खाना महोत्सव गर्दै आइरहेको छ ।
पत्रकार सम्मेलनमा एशोसिएसनका संस्थापक अध्यक्ष भगिरथ शर्मा, एशोसिएसनका पुर्व अध्यक्ष शंकरलाल श्रेष्ठ लगायत पदाधिकारी र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।