काठमाडौं \ निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि सात मतदान स्थल र १४ मतदान केन्द्र तोकेको छ । आयोगले निर्वाचनका लागि प्रत्येक प्रदेशमा एक–एक वटा मतदान स्थल र सोही मतदान स्थलमा दुई–दुई वटा मतदान केन्द्र रहने गरी जम्मा सात मतदान स्थल र १४ मतदान केन्द्र तोकेको छ ।
आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले बागमती प्रदेशको लागि हेटौँडामा रहेको भुटनदेवी माध्यामिक विद्यालयको प्राविधिक ब्लकलाई तोकिएको बताए । त्यस्तै, कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय विराटनगर, मोरङ र मधेश प्रदेशका लागि महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुरधाम, धनुषालाई मतदानस्थल तोकिएको बताएका छन् ।
यसैगरी, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा, कास्की, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन, घोराही, दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढी, कैलालीलाई मतदानस्थल तोकिएको प्रवक्ता पौडेलले बताए ।
तोकिएका मतदानस्थलमा प्रदेश सभाका सदस्यले मतदान गर्न र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नका लागि बेग्लाबेग्लै मतदान केन्द्रहरू रहनेछन् । मतदान केन्द्रको विवरण आयोगको वेवसाइटमा समेत प्रकाशन गरिएको छ ।
प्रवक्ता पौडेलका अनुसार तोकिएका मतदान केन्द्रमा माघ ११ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ ।