हेटौँडा \ हेटौँडा ७ नागस्वतीमा अवस्थित हेटौंडा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २५ औं वार्षिकोत्सवमा रजत महोत्सव मनाउँदै विभिन्न कार्यक्रम गरिने भएको छ । शुक्रबार संस्थाको मुख्यकार्यालयमा पत्रकार सम्मेलन गर्दै २५ औं स्थापना दिवसको अवसरमा गरिने कार्यक्रमहरु सार्वजनिक गरिएको थियो । कार्यक्रमहरु सार्वजनिक सँगै संस्थाले सहकारीका संस्थापकहरुलाई नगद सहित सम्मान समेत गरेको छ । २०५६ सालमा स्थापना भएको सहकारी २६ जना सदस्य भएर दर्ता गरिएको जनाइएको छ ।
कार्यक्रम सार्वजनिक गर्दै संस्थाका अध्यक्ष ईन्द्रबहादुर बस्नेतले शुक्रबारबाट सुरु हुने विभिन्न कार्यक्रम १३ गते समापन गरिने बताए । संस्थाका सप्ताहव्यापी कार्यक्रमहरु आजै संस्थाको सभाहलमा समिति, उपसमितिको संयुक्त बैठक बसिने भएको छ भने आइतबार ८ गते संस्थाकै हलमा जेष्ठ शेयर सदस्य सम्मान कार्यक्रम रहेको अध्यक्ष बस्नेतले बताए ।
त्यस्तै, ९ गते बाल कार्यक्रम तथा वनभोज, ११ गते संस्थामै वृहत रक्तदान, १२ गते म्युजिकल चियर प्रतियोगिता, घ्याम्पो फुटाई र सेवाकेन्द्र स्तरीय फुटबल प्रतियोगिता रहने जनाइएको छ । त्यस्तै, १३ गते स्लो बाईक÷स्कुटर रेस, पाँच सय मिटर महिला÷पुरुष दौड, फुटबलको फाइनल प्रतियोगिता, पुरस्कार वितरण र साँझमा दीप प्रज्वलन, मिठाई वितरण तथा सप्ताहव्यापी कार्यक्रम समापन रहेको अध्यक्ष बस्नेतले बताए ।
संस्थाका अध्यक्ष ईन्द्र बहादुर बस्नेतको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा संस्थाका उपाध्यक्ष विजय बहादुर बस्नेत, प्रवन्धक रामशरण गौतम सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । संस्थाको हेटौंडा सदस्य सेवा केन्द्र, चिसापानी सदस्य सेवा केन्द्र र कमाने सदस्य सेवा केन्द्रबाट शेयर सदस्यहरुलाई सेवा प्रदान गर्दै आइरहेको संस्थाका प्रवन्धक रामशरण गौतमले बताए ।
संस्थामा महिला पुरुष गरी ६९३१ शेयर सदस्य रहेका छन् भने २१२४ जनालाई कर्जा लगानी गरेको गौतमले बताए । संस्थाको मंसिर मसान्त सम्ममा शेयरपुजीँ ४ करोड ३६ लाख ९४ हजार २ सय रहेको छ भने जगेडा कोषमा तीन करोड ८० लाख ७० हजार ६८२ रहेको प्रवन्धक गौतमले बताए ।
संस्थाको बचत निक्षेप ५० करोड ९७ लाख ८७ हजार ९७२ रहेको र कर्जा लगानी ५७ करोड ३२ लाख १५ हजार १०९ रहेको गौतमले बताए ।