हेटौँडा / मकवानपुरको बकैया गाउँपालिकाले बगर खेती गर्ने किसानलाई अनुदान दिने भएको छ । गाँउपालिकाको आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रम अनुसार बगरमा खेती गर्ने किसानलाई अनुदान दिने भएको गाँउपालिकाका अध्यक्ष धर्मराज लामिछानेले बताउनु भयो । गाँउपालिकाले प्रति क्लस्टर ९५ विघा क्षेत्रफलमा एक लाख ७५ हजार अनुदान रकम उपलब्ध गराउने भएको उहाँले बताउनु भयो ।
गाँउपालिकाले गएको शुक्रबार बगर खेति कार्यक्रमका लागि प्रस्तावना आव्हानको सूचना प्रकासित गर्दै कृषि व्यवसायमा संलग्न भई खेती गर्न इच्छुक कृषक, कृषक समुह, कृषि सहकारी संस्था, फार्ममार्फत एक साताभित्र दरखास्त आव्हान गर्न सकिने जनाएको छ । अनुदानका लागी संस्था दर्ता प्रमाण पत्रको प्रतिलिपि,कृषि व्यवसाय गर्ने अनुसूची अनुसारको प्रस्तावना,जग्गाको क्षेत्रफल र स्वामित्व वा हकभोग खुल्ने प्रमाणपत्र प्रतिलिपि,प्रतिवद्धता पत्र,आयोजना सम्बन्धी अन्य कागजातहरु माग गरेको हो ।
अनुदान वितरण प्रक्रिया प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरित कृषि विकास कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०८० अनुसार गरिने बताईएको छ । आयआर्जनमा विकास गर्ने लक्ष्य सहित बगर खेतीलाई प्रोत्साहन गर्न कार्यक्रम ल्याइएको अध्यक्ष लामिछानेले बताउनुभयो । “हेटौँडा बजारबाट गाउँमा आउने दैनिक उपभोग्य सामाग्री न्यूनीकरण गर्दै जान्छौं, अब बिस्तारै गाउँबाट सहरमा तरकारी पठाउँने लक्ष्यका साथ काम गरेका छौं,” उहाँले बताउनु भयो ।
हिउँदमा खेर गईरहेको बगरको जग्गामा तरबुजा, काँक्रो, लौका र फलफुलका बिरुवा लगाउन सके बगरको जग्गा उपयोग पनि हुने त्यहाँबाट उत्पादन भएको तरकारी फलफूलमार्फत किसानलाई आयआर्जन पनि हुने उहाँले बताउनु भयो । बकैया गाँउपालिकाका १२ वटा वडामा अनुमानित १५ प्रतिशत जग्गा नदी उकास क्षेत्र रहेको उहाँले बताउनु भयो । बगर खेतीलाई प्रोत्साहन गर्न गाँउपालिकाको अनुदान दिने भएपछि कृषकहरु उत्साहित भएका छन् ।